काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।
ललितपुरमा ३ दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।
बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय नभएको र समर्थन कायमै रहेको बताए । बैठकले भ्रष्टाचारको अन्त्य, सुशासन कायम, विकास र संविधान संशोधनका लागि वर्तमान सरकार असक्षम रहेको निष्कर्ष निकालिएको उनले बताए ।
अध्यादेशको प्रक्रियाप्रति बैठकले असहमति जनाउँदै उनले भूमि सम्बन्धी अध्यादेश फिर्ता दिन माग गरिएको बताए । अन्य ५ वटा अध्यादेशलाई समर्थन जनाउने निर्णय गरिएको उनले बताए ।
बैठकले ‘नो केबलकार’ अभियानप्रति समर्थन जनाउँदै वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता सुमनले जानकारी दिए । बैठकले सबै स्थानीय तह र भातृ संस्थाको अधिवेशन वैशाख मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ ।
सबै अधिवेशन सम्पन्न भइसकेपछि हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र हिमाली राजमार्गमा १०० दिने जनतासँग भेटघाट अभियान चलाउने निर्णय बैठकले गरेको छ ।




प्रतिक्रिया