राजतन्त्र ‘ब्यालेट’बाट पराजित गरियो, माओवादीको हिंसात्मक जनयुद्ध गलत थियो : मन्त्री गुरुङ

राजतन्त्र ‘ब्यालेट’बाट पराजित गरियो, माओवादीको हिंसात्मक जनयुद्ध गलत थियो : मन्त्री गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनताले सामन्तवाद र राजतन्त्र ‘बुलेट’बाट नभई ‘ब्यालेट’बाट पराजित गरिएको बताएका छन् ।

यदु स्मृति प्रतिष्ठानले बुधबार काठमाण्डुमा आयोजना गरेको २६औं यदु स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले नेकपा माओवादीले भन्दै आएको जनयुद्ध हिंसात्मक भएकाले गलत भएको बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले माओवादीले रुकुम–रोल्पाबाट थालेको हिंसात्मक गतिविधिको छाप अझै पनि मुलुकमा रहेकाले त्यसबाट देशलाई मुक्ति दिलाउने दायित्व हामी सबैको रहेको बताए ।

नेपालमा शान्तिपूर्ण क्रान्तिमा नेकपा एमाले र नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको उदाहरण दिँदै उनले भने, ‘हामीले मत खसालेर राजा फालेको इतिहास छ । माओवादीले हिंसात्मक बाटो रोजे, जसले मुलुकको विकासमा २५ वर्ष पर धकेलिएको छ ।’

हिंसात्मक गतिविधि सञ्चालन गरेको विषयलाई माओवादीले आत्मसाथ गर्नुपर्ने उनले बताए । उनले पछिल्लो समय हिंसाको अर्को आवरणको रूपमा सामाजिक सञ्जालको गलत प्रयोग भई समाजमा विकृति र विसंगति मौलाएको भनी चिन्ता व्यक्त गरे । ‘सामाजिक सञ्जालको प्रयोग गरी भइरहेको हिंसात्मक गतिविधि रोकथाम गर्नु राज्यको दायित्व भएकाले धार्मिक सहिष्णुता, जातीय एकता, सामाजिक सद्भाव कायम गर्न सामाजिक सञ्जाल नियमन सम्बन्धी कानून बनाउन लागेको उनले बताए ।

सामाजिक सञ्जाललाई दुरुपयोग गरेर कुनै व्यक्ति, जाति, सम्प्रदाय, धर्म, संस्कृति र भाषामाथि गरिने हिंसात्मक अभिव्यक्ति रोकथाम गर्न सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक ल्याउन लागेको उनले बताए । लोकतान्त्रिक विधि, मूल्य–मान्यताको उपज भएकाले अभिव्यक्ति एवं प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने अहिलेको सरकार अराजकता र अस्थिरताविरुद्ध रहेको स्पष्ट गरे ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले जनयुद्धका नाममा नेकपा माओवादीले हिंसात्मक बाटो रोज्दा धनजनको ठूलो क्षति भई मुलुकपछि परेको दृष्टान्त प्रस्तुत गर्दै माओवादी आन्दोलनलाई इतिहासले माफी नदिने धारणा व्यक्त गरे ।

एमाले पोलिटब्युरो सदस्य खेममान खड्काले यदु गौतमको राजनीतिक जीवनशैली, योगदान र क्षमतामाथि चर्चा गर्दै एक साहसिक, जनप्रिय एवं स्थापित नेताका रूपमा स्वर्गीय गौतम आमा जनताबीच चिनिने धारणा व्यक्त गरे ।

वरिष्ठ पत्रकार दिलभूषण पाठकले पत्रकारिताको धर्म सत्यतथ्य र निष्पक्ष हुनुपर्नेमा पछिल्लो समय हाम्रो पत्रकारिता हल्लाको पछाडि दौडिन थालेको भनी चिन्ता व्यक्त गरेका छन् ।