काठमाण्डु – पर्वत र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
पर्वतको विहादी गाउँपालिका–६ सुशिल ढुङ्गास्थित सडकमा गुल्मीबाट स्याङजातर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको बोलेरो जीप अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा जीपमा सवार विहादी गाउँपालिका–३ रानीपानी बस्ने ६१ वर्षीय मिन प्रसाद न्यौपाने र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाट बस्ने ६४ वर्षीय डिल भट्टचनको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य ७ जनालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी अर्घाखाँचीको मालारानी गाउँपालिका–२ कुभिन्डेस्थित सडकमा बुटबलबाट अर्घाखाँचीतर्फ आउँदै गरेको लु१ज ४२२६ नम्बरको जीप बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका–२ बस्ने ५१ वर्षीय कृष्ण लाल मरासिनीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया