काठमाण्डु – नेपाली कांग्रेसका नेता अभिषेक प्रताप साहले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
हालै भारतको उत्तर प्रदेश (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर फर्किएका नेता साहले योगीको सन्देश सभापति देउवालाई सुनाएका छन् ।
नेपालमा तीव्रगतिमा भइरहेको धर्मान्तरणबारे मुख्यमन्त्री योगीले चिन्ता व्यक्त गरेको कुरा सभापति देउवालाई जानकारी गराएको नेता साहले काठमाण्डुपाटीलाई जानकारी दिए ।
सभापति देउवाले चासो राख्दा नेता साहले लोकतान्त्रिक देश भारतले सधैं लोकतान्त्रिक प्रणालीको समर्थन गर्नेबारे सन्देश प्रवाह गरेका छन् ।
जनकपुरधाम भ्रमणको निम्तो दिन मुख्यमन्त्री योगीलाई भेट्न गएको प्रतिनिधिमण्डलमा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली चौधरी, कांग्रेस नेता अभिषेक प्रताप साह लगायत सहभागी थिए ।
भेटमा योगीले नेपाल–भारत सम्बन्ध सुमधुर हुनुपर्ने अपेक्षा राखेका थिए । ‘नेपालको विकासमा सहयोग गर्न तयार छौं, भारतसँग राम्रो सम्बन्ध बनाउनुहोस्,’ उनले भनेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा मुख्यमन्त्री योगीको फोटो प्रदर्शन गरिएको सन्दर्भमा योगीले राजसंस्था र गोरखनाथ पीठको पुरानो ऐतिहासिक सम्बन्ध रहेको प्रतिक्रिया दिएका थिए ।




प्रतिक्रिया