काठमाण्डु –भारतको असाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले काठमाण्डु ल्याउँदैछ ।
काठमाण्डुको तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका प्रसाईँलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरेर नेपाल ल्याइँदै छ । प्रसाईंलाई काठमाण्डु ल्याउनका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल–भारत सीमा क्षेत्रमा पुगिसकेको छ ।
झापाको काँकडभिट्टा नाकामा प्रसाईँ समर्थकहरू भेला भएका छन् । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदैछ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेची पुलमा आफन्त र समर्थकको भिड बढेपछि उनलाई अर्कै नाकाबाट नेपाल छिराउने तयारी भएको छ ।
प्रसाईँलाई गलगलिया नाकबाट नेपाल ल्याउने गरी रुट परिवर्तन भएको छ । गलगलिया नाका झापाको भद्रपुरसँग जोडिएको भारतीय सीमा हो ।
भारतीय प्रहरीबाट गलगलियामा प्रसाईँलाई हस्तान्तरण भएपछि चन्द्रगढी विमानस्थलबाट प्रसाईँलाई काठमाण्डु लगिने छ ।
चैत १५ मा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । पूर्वराजाको पक्षमा आयोजित प्रदर्शनमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागी थियो । सुवेदीलाई गौरीघाट स्थित घरमै नजरबन्द गरिएको छ ।
प्रसाईँ भने त्यहाँबाट भागेर भारत पुगेका थिए । भारतमा पुगेपछि उनले सामाजिक सञ्जालमा दुईवटा भिडियो सन्देश पोस्ट गरेर आफू नेपालमै भएको तर जोगिएर बसेको बताएका थिए ।
प्रसाईँ भारतको आसाम स्थित कांग्रेस आईका एकजना स्थानीय नेताको घरमा लुकेर बसेको प्रहरीले जनाएको छ ।
प्रसाईँ विरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा मुद्दा चलाइने प्रहरी अधिकृतहरू बताउँछन् ।
प्रहरीले भने विहीबार विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारलाई खण्डन गरेको थियो । प्रसाईंको सचिवालयले भने उनले आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेको थियो ।




प्रतिक्रिया