काठमाण्डु- ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडा नं १० बस्ने १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षीय बिनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४५ वर्षीय दुर्गा भट्टराई छन्।
आध्याकी आमा ललितपुर बस्ने ४५ वर्षीया सविना आचार्य र सविनाका छोरा १० वर्षीय अभियम आचार्यलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको छ। गम्भीर अवस्थाकी घाइते सविनाको शरीरको धेरै भाग जलेकोले हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारको आवश्यकता देखिएको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन्। उनलाई रेफरको तयार गरिएको छ।
बिजुलीको तारबाट लत्रिएको तारबाट बोलेरो जीपमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भीम दाहालले मृतकको नाम सनाखत हुन बाँकी रहेको बताए ।
यता, कालिकोटको पलाँता गाउँपालिकाको थिर्पूबाट खाद्यान्न लिएर खिन, धौलागोह जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मृतकमा पलाँता गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ का ३८ वर्षीया सदु बुढा, सोही वडाका २३ वर्षीया रविन्द्र विश्वकर्मा र ट्याक्टर चालक मुगुको खत्याडका चन्द्रप्रकाश रोकाया रहेको प्रहरीले जनाएको छ ।
पलाँता–९ थिर्पूबाट खिन जाँदै गरेको ट्याक्टर पलाँता गाउँपालिका–२ को लार्फ गाउँ नजिक दुर्घटना भएको हो । घटनास्थलमै चालकसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । ट्याक्टर दुई सय मिटर तल खसेकाले नम्बर पत्ता लगाउन कठिन भएको स्थानीयले बताएका छन् ।




प्रतिक्रिया