काठमाण्डु– धितोपत्र बोर्डले जलविद्युत आयोजनाहरुसँग कमिसन मागेको कुरा संसद्मा पुगेको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले साना आयोजनासँग ५ र ठूलासँग ७ प्रतिशत कमिसन मागिरहेको बताएका हुन् ।
ऊर्जा उत्पादक संघ (इप्पान)का सदस्यले नै खुलाखुला धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गर्यो भन्दै आएको उल्लेख गर्दै उनले भने ‘हिजो र आज धितोपत्र बोर्डमा कमिसनका कारण २२ महिनादेखि १००९.५ मेगावट क्षमता रहेका ४३ जलविद्युत आयोजना ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको आईपीओ राकियो भन्ने समाचार आएको छ ।’
‘आज धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गर्यो भन्ने समाचार आएको छ यो निकै गम्भीर र दुःखदायी अवस्था हो। यो घटनालाई एउटा भरपर्दो संयन्त्रका साथ छानबिन गर्नुपर्यो,कारवाही गर्नुपर्यो । यो छानबिनका लागि म सभामुखमार्फत नेपाल सरकारलाई रुलिङका लागि माग गर्न चाहान्छु।’ उनले माग गरे ।
यस्तै राप्रपा सांसद रोशन कार्कीले आईपीओ जारी गर्न धितोपत्र बोर्डका अध्यक्षले कमिसन मागेको भन्दै उनीमाथि कारबाहीको माग गरेकी छिन्।
‘आईपीओ निस्काशन गर्नका लागि धितोपत्र बोर्डका प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको भन्ने कुरा प्रशस्त बजारमा आइरहेको छ।’
धितोपत्र बोर्डका अध्यक्षमाथि प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले कारबाही गर्नुपर्ने पनि कार्कीले माग गरिन्।




प्रतिक्रिया