धनगढी – विश्वभर महामारीको रूपमा फैलिएर केही समय अन्त्य भएको कोभिड भाइरस संक्रमण फेरि देखिन थालेको छ ।
भारतबाट फर्किएका सुदूरपश्चिमका ३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
कोभिड पुष्टि हुनेमा २ पुरूष र १ महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए ।
कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको छ ।
उनले भने, ‘भारतको विभिन्न शहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शंकास्पद ३६ जनाको परीक्षण गर्दा ३ जनामा कोभिड पुष्टि भएको छ । कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौं ।’
कोभिड पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डु पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । ‘कोभिड पुष्टि भएका तीनैजनाको स्याम्पल काठमाण्डु पठाएका छौंं । काठमाण्डुमा पीसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ ।’
भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को संक्रमण देखा परिरहेकाले नेपालमा पनि यसको संक्रमण र महामारी निम्तिन सक्ने भएकाले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ ।




प्रतिक्रिया