काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख एलोन मस्कबीच चर्काचर्की भएको छ । एक समय ट्रम्पको नजिक रहेर प्रशासन हेरेका मस्क र ट्रम्पबीच यति धेरै चर्काचर्की हुन्छ भनेर कसैले चिताएको थिएन ।
तर भयो यस्तै । उनीहरूबबीच झगडा यति बढ्यो कि ट्रम्पलाई महाभियोग लगाउन मस्कले धम्की दिए । यसका साथै उनले उपाध्यक्ष जेडी भान्सलाई राष्ट्रपति बनाउनुपर्ने बताए ।
ट्रम्पले मस्कको धम्कीको प्रतिकार गर्दै उनका कम्पनीहरूलाई सरकारी ठेक्का र अनुदान समाप्त गर्ने चेतावनी दिए ।
मस्कसँगको चर्को बहसपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो बजेटबाट अर्बौं डलर बचत गर्ने सबैभन्दा सजिलो तरिका भनेको एलोनको मस्कको सरकारी अनुदान र सम्झौताहरू समाप्त गर्नु हो । म सधैं सोच्थेँ कि बाइडेनले यो पहिले किन गरेनन् ।’
यसअघि मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा ट्रम्पलाई कृतघ्न भन्दै ट्वीट गरेका थिए । उनले आफू नभएको भए ट्रम्प चुनाव नै हार्थे भन्ने दाबी पनि गरेका छन् ।
ट्रम्पले ‘बिग ब्युटिफूल बिल’ भनेर प्रचार गरिरहेको ट्रम्पको घरेलु नीति र कर विधेयकको मस्कले आलोचना गरेपछि सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीचको युद्ध सुरु भएको हो ।
कुरा यहीँ रोकिएन । मस्कले ट्रम्प र उनका सहयोगीहरूका पुराना टिप्पणीहरू सामाजिक सञ्जालमा सेयर गर्न थाले, जसमा उनीहरूले अमेरिकी सरकारको बढ्दो खर्च र घाटाको बारेमा चिन्ता व्यक्त गरेका थिए । यसले मुद्दालाई अझ बढाएको छ ।
ट्रम्पका राजनीतिक सहयोगीहरू र प्रविधि उद्योगका ठूला नामहरूसहित अहिले धेरै मानिसहरू यो लडाइमा सामेल भएका छन् । ट्रम्पले मस्कका कम्पनीहरूसँगका सबै अमेरिकी सरकारका सम्झौताहरू समाप्त गर्ने विचार गरिरहेको पनि बताएका छन् ।
कसरी सुरु भयो बहस
ट्रम्पले बिहीबार राति मिडियासँग कुरा गरे । मस्कले तपाईंको बिग ब्युटिफूल बिल (कर र खर्च बिल) को आलोचना गरेको भनेर पत्रकारले सोधे ।
यसको जवाफमा ट्रम्पले भने, ‘मलाई सधैं एलोन मन पर्छ । तपाईंले देख्नुभएको होला कि उनले मेरो बारेमा के भने, उनले मेरो बारेमा केही नराम्रो भनेका छैनन् । म चाहन्छु कि उनले विधेयकको सट्टा मेरो आलोचना गरून् किनभने विधेयक शानदार छ । यो हाम्रो देशको इतिहासमा सबैभन्दा ठूलो कटौती हो । एलोन र मेरो धेरै राम्रो सम्बन्ध थियो । मलाई थाहा छैन हाम्रो राम्रो सम्बन्ध रहिरहनेछ कि रहने छैन ।’
ट्रम्पले थप भने, ‘हाम्रो सरकार छोड्ने बित्तिकै उनको विचार परिवर्तन भयो । म एलोनसँग धेरै निराश छु । मैले उनलाई धेरै मद्दत गरेको छु ।’
यसैबीच मस्कले ट्रम्पको दाबीलाई गलत भनेका छन् । मस्कले ट्रम्पको दाबीलाई झूटो भन्दै भने, ‘मलाई कर र खर्च विधेयकको बारेमा केही थाहा थिएन । ट्रम्पको दाबी झूटो छ ।’
मस्कले विधेयक मध्यरातमा यति छिटो पारित भयो कि लगभग कुनै पनि कांग्रेस (संसद) का सांसदले यसलाई पढ्ने मौका नपाएको दाबी गरे ।
यसपछि, मस्कले ट्रम्पविरुद्ध लगातार धेरै ट्वीट गरे र उनलाई कृतघ्न भने ।
मस्कले ट्रम्पको ठूलो सुन्दर विधेयकलाई ‘ठूलो कुरूप विधेयक’ भनेका छन् र यो विधेयकले सरकारी घाटा २.५ ट्रिलियन डलर पुर्याउने दाबी गरेका छन् ।
मस्कपछि ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मार्फत मस्कलाई निशाना बनाउँदै अनुदान अन्त्य गर्ने धम्की दिएका छन् ।
मस्कले जेफ्री एपस्टाइनको फाइलमा डोनाल्ड ट्रम्पको नाम समावेश भएको सनसनीपूर्ण दाबी पनि गरेका छन् ।
‘अब ठूलो खुलासा गर्ने समय आएको छ । डोनाल्ड ट्रम्पको नाम एपस्टाइन फाइलहरूमा छ । त्यसैले तिनीहरूलाई सार्वजनिक गरिएको छैन’, मस्कले भनेका छन् ।
एपस्टाइन केस एक उच्च–प्रोफाइल आपराधिक मुद्दा हो जसमा अमेरिकी अर्बपति जेफ्री एपस्टाइनलाई नाबालिग युवतीहरूलाई यौन दुव्र्यवहार र बेचबिखनको आरोप लगाइएको थियो । यस मुद्दामा विश्वभरका धेरै उच्च–प्रोफाइल व्यक्तिहरूको नाम प्रकाशमा आएको छ, जसमा ट्रम्पको नाम पनि छ ।




प्रतिक्रिया