इजरायल-इरान युद्ध : २३८को मृत्यु, इरानी सेनाका गुप्तचर प्रमुख पनि मारिए

इजरायल-इरान युद्ध : २३८को मृत्यु, इरानी सेनाका गुप्तचर प्रमुख पनि मारिए


काठमाण्डु- इरान र इजरायल जारी युद्धमा ठूलो संख्यामा मानवीय क्षति भएको छ।

शुक्रबारदेखि सुरु भएको युद्धमा दुबै देशले एकअर्कामाथि मिसाइल र हवाई आक्रमण गरिरहेका छन्। युद्धले सैन्य र गैरसैन्य क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।अहिलेसम्म दुबै देशमा गरी २३८ जनाको मृत्यु भएको छ। त्यस्तै १६ सय भन्दा धेरै जना घाइते भएका छन्।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि हालसम्म कम्तीमा २२४ जनाको मृत्यु भएको छ भने १२७७ जना घाइते भएका छन्। मृतक र घाइतेमध्ये ९० प्रतिशत भन्दा बढी सर्वसाधारण छन् । मानवअधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्सले भने यो संख्या अझ बढी रहेको बताएको छ।

मृतकमा इरानका उच्च सैन्य अधिकारीहरू मोहम्मद होस्सैन बाघेरी (इरानी सेनाका चिफ अफ स्टाफ), होस्सैन सलामी (रिभोलुसनरी गार्ड कोर्प्सका कमान्डर), मोहम्मद काजेमी (आईआरजीसी खुफिया प्रमुख), र घोलमाली रशिद (उपकमाण्डर) का साथै परमाणु वैज्ञानिकहरू फेरेदुन अब्बासी र मोहम्मद तेह्रान्चीलगायत छन्।

घाइतेमध्य केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। चौथो दिनमा पनि आक्रमण जारी रहेका कारण मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

यसबीच इरानको सरकारी सञ्चार माध्यमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) को गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको छ।

इजरायली आक्रमणमा काजेमी बाहेक उनका उपप्रमुख हसन मोहाक र कमाण्डर मोहसेन बाकेरी पनि मारिएको आईआरजीसी सम्बद्ध तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले जनाएको छ।

यसैबीच, इरानले फेरि इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको छ। यसपछि हाइफा, तेल अभिभ र जेरुसेलममा विस्फोटको आवाज सुनिएको छ। इजरायलको आपतकालीन सेवाले यी आक्रमणहरूमा १० भन्दा बढी व्यक्ति घाइते भएको जनाएको छ।