काठमाण्डु– अमेरिकाको टेक्सास हिल कन्ट्रीमा आएको विनाशकारी बाढीका कारण कम्तीमा ८२ जनाको ज्यान गएको छ।
अधिकारीहरूका अनुसार ८२ जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन्।
टेक्सासको यो बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पुर्याएको छ। सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ ६८ जनाको मृत्यु पुष्टि गरिएको छ। ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना, र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा आएको बाढीपछि यो विपद् सुरु भएको हो। केर काउन्टीको क्याम्प मिस्टिक — बालबालिकाहरूको ग्रीष्मकालीन शिविर — बाट करिब एक दर्जन व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्।
मृतकमध्ये ४० जना वयस्क र २८ जना बालबालिका छन्। तीमध्ये १८ जना वयस्क र १० जना बालबालिकाको पहिचान अझै हुन बाँकी रहेको जनाइएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा १६० भन्दा बढीको हवाई उद्धार गरिएको छ। ८५० जना सुरक्षित रूपमा उद्धार गरिएका छन् भने ८ जना घाइतेको उद्धार गरिएको छ।




प्रतिक्रिया