दक्षिण एसियामा आतंकवाद र क्षेत्रीय सुरक्षाबारे काठमाण्डुमा उच्चस्तरीय सेमिनार

दक्षिण एसियामा आतंकवाद र क्षेत्रीय सुरक्षाबारे काठमाण्डुमा उच्चस्तरीय सेमिनार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) को आयोजनामा ‘दक्षिण एसियामा आतंकवाद: क्षेत्रीय शान्ति र सुरक्षाप्रतिको चुनौती’ विषयक उच्चस्तरीय सेमिनार ९ जुलाईमा काठमाण्डुमा सम्पन्न भएको छ ।

सेमिनारमा पूर्वमन्त्री, सुरक्षा विज्ञ, अनुसन्धानकर्ता, राजनीतिज्ञ, नागरिक समाज र नीति निर्माता गरी १५० भन्दा बढी सहभागी थिए ।

सेमिनारमा पाकिस्तानमा सञ्चालन भइरहेका लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद जस्ता आतंककारी समूहहरूले दक्षिण एसियाको क्षेत्रीय शान्तिमा चुनौती प्रस्तुत गरिरहेको भन्दै वक्ताहरूले गम्भीर चिन्ता व्यक्त गरे ।

राष्ट्रपति कार्यालयका सल्लाहकार तथा पूर्वउद्योगमन्त्री सुनीलबहादुर थापाले अल–कायदा र पाकिस्तानस्थित आतंककारी समूहहरू बीचको सम्बन्ध र नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरिन सक्ने सम्भावनाको चेतावनी दिए ।

पूर्वरक्षा मन्त्री डा. मिनेन्द्र रिजालले भारतमा भएका आतंकवादी आक्रमणहरूका ‘स्पिलओभर इफेक्ट’ नेपालमा समेत देखिन सक्ने बताए । उनले पाकिस्तानको आतंकवाद समर्थनले सार्कको प्रभावकारिता र क्षेत्रीय एकतामा अवरोध पुर्‍याएको उल्लेख गरे ।

संघीय सांसद चन्दा चौधरीले हवाला र अवैध वित्तीय कारोबार नियन्त्रण नगरिएसम्म अन्तरदेशीय आतंकवाद रोक्न सकिने सम्भावना कमजोर रहने बताइन् ।

पूर्वमन्त्री शिशिर खनालले भारतको ‘अपरेसन सिन्दूर’ अन्तर्गतको सैन्य कारबाही र पाकिस्तान विरुद्धको कूटनीतिक कदमले क्षेत्रीय आतंकवादविरुद्ध नयाँ मापदण्ड स्थापित गरेको बताए ।

पूर्व कूटनीतिज्ञ डा. दिनेश भट्टराईले हालैको पाहलगाम आक्रमणलाई सबैभन्दा घातक हमला भन्दै, निर्दोष नागरिकहरूलाई धर्म पहिचान गरेर हत्या गरिएको घटनालाई अमानवीय र निन्दनीय बताए ।

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले नेपालसहित क्षेत्रीय शक्तिहरूले आतंकवाद नियन्त्रणका लागि स्पष्ट संयन्त्र निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

पूर्वमेजर जनरल डा. पूर्ण सिवालले आतंकवादविरुद्ध दोहोरो मापदण्ड नराख्न राष्ट्रहरूलाई सुझाव दिँदै साँच्चिकै अन्त्य गर्न चाहिएको हो भने सबैको एकमत आवश्यक रहेको बताए ।

पूर्वपरराष्ट्र सचिव मधुरमन आचार्यले भारत र नेपालबीच गुप्तचर जानकारी आदान–प्रदान र सीमामा संयुक्त गस्ती सञ्चालनको आवश्यकता रहेको धारणा राख्दै नेपालले आतंकवादविरुद्ध भारतको पक्षमा उभिनुपर्ने बताए ।

एनआईआईसीईकी निर्देशक सुमित्रा कार्कीले काठमाण्डुबाट अपहरण गरिएको आईसी–८१४ उडान र हालैको पाहलगाम आक्रमणको सन्दर्भ दिँदै नेपाल आतंकवादप्रति संवेदनशील रहेको औंल्याइन् । एनआईआईसीईका अनुसन्धान निर्देशक डा. प्रमोद जैसवालले पाकिस्तान विगत ३ दशकदेखि दक्षिण एसियाको आतंकवादको केन्द्रबिन्दु बनिरहेको र त्यहाँका राज्य संयन्त्रले आतंकवादीहरूलाई प्रशिक्षण, वित्तीय सहयोग र संरक्षण दिँदै आएको उल्लेख गरे ।

सेमिनारमा सहभागी वक्ताहरूले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्न साझा दृष्टिकोण, सहयोग र नीति निर्माण आवश्यक रहेकोमा जोड दिएका थिए ।