पहिलो पटक गाइजात्रामा भरत र सुमनको ‘इन्ट्री’

पहिलो पटक गाइजात्रामा भरत र सुमनको ‘इन्ट्री’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सांस्कृतिक संस्थानले साउन २४ देखि ३१ गतेसम्म आयोजना गर्न लागेको ‘गाइजात्रा महोत्सव २०८२’ मा चर्चित हास्यकलाकारहरू भरत मणि पौडेल, सुमन कोइराला, सन्तोष थापा, कैलाश कार्की अनुबन्धित भएका छन्।

संस्थाका प्रवक्ता किरणबाबु पुनका अनुसार, हास्य रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ का कलाकारहरूलाई विशेष प्रस्तुति दिनका लागि निमन्त्रणा गरिएको हो।

यस्तै अर्का हास्यकलाकार दिनेश काफ्ले पनि अनुबन्धित भएका छन्।

यस महोत्सवमा सुमन कोइराला र भरत मणि पौडेलले पहिलोपटक गाइजात्राको स्टेज साझा गर्न लागेका छन्। फरक–फरक पात्र र प्रस्तुतिमा हास्य व्यङ्ग्य गर्ने यी कलाकारहरूले गाइजात्राको सांस्कृतिक परिवेशमा आधारित नयाँ सामग्री तयारी गरिरहेको जनाएका छन्।

‘नयाँ भनेको कन्टेन्ट हो, किनकि स्टेज र पर्वअनुसार कन्टेन्ट परिवर्तन हुन्छ। सुमन र मेरो यो पहिलो गाइजात्रा स्टेज प्रस्तुति पनि त्यसैले विशेष हुनेछ,’ भरत मणिले भने।

उनका अनुसार प्रस्तुति समाजमा व्याप्त विकृति, विसङ्गति, राजनीति र सामाजिक धारणा विरुद्ध व्यङ्ग्यात्मक ढंगमा केन्द्रित हुनेछ।

सुमन (दले दाइ) र भरतमणीको ‘घरबेटी–भाडावाल माइकल’ नामक प्रहसन गाइजात्रामा प्रस्तुत हुने उनले जानकारी दिए।

यसअघि कमेडी दरबारको समूहबाट हिमेश पन्त, विकाश अर्याल, सुजिता श्रेष्ठ, सरोज भण्डारी लगायतलाई पनि अनुबन्धित गरिएको छ ।

गाइजात्रा (सापारू) नेवार समुदायको विशेष सांस्कृतिक पर्व हो, जुन प्रत्येक वर्ष साउन शुक्ल पक्षको प्रतिपदादेखि मनाइन्छ। सांस्कृतिक संस्थानले परम्परागत मौलिकता र आधुनिक प्रस्तुति शैलीलाई एकसाथ जोड्दै गाइजात्रालाई महोत्सवको रूपमा अघि बढाएको हो।

महोत्सव राष्ट्रिय नाचघर, जमल मा हुनेछ। संस्थानले गाइजात्रालाई २०८१ सालदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेटेर विधिवत् रूपमा आयोजना गर्दै आएको छ।

यस वर्षको महोत्सवमा संस्थानका नृत्य, संगीत, नाटकसम्बन्धी कलाकारहरूको प्रस्तुति मात्र नभई, राष्ट्रिय रूपमा चर्चित कलाकारहरूको पनि सहभागिता रहने बताइएको छ।