काठमाण्डु- सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजिपी) राजु अर्यालले संगठनले अत्यावश्यक सामग्रीहरूमा चरम अभाव भोग्नुपरेको गुनासो गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आइजिपी अर्यालले गृहमन्त्री रमेश लेखकको सामु रासन, पोशाक, सवारी साधन र आवासजस्ता आधारभूत आवश्यकता अपुग रहेको बताएका हुन्।
‘एक जना प्रहरीका लागि दैनिक रासन खर्च २०३ रुपैयाँ ५५ पैसा तोकिएको छ, जसले बिहानदेखि बेलुकासम्मको गुजारा गर्नुपर्छ,’ उनले भने, ‘वर्षभरिका लागि सबै पोशाक खर्चमा तीन अर्ब सात करोड रुपैयाँ आवश्यक पर्छ, तर सरकारले जम्मा ६१ करोड १८ लाख रुपैयाँ मात्रै छुट्याउने गरेको छ।’
१७ जिल्लामा सशस्त्र प्रहरीको कार्यालय अस्थायी रूपमा सञ्चालनमा छन्। सरकारले ५ सय स्थानमा सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापना गर्ने लक्ष्य लिएको भए पनि हालसम्म २६० स्थानमा मात्र बीओपी स्थापना भएको छ। ती स्थानमा गस्तीका लागि सवारी साधन र आवासको समेत अभाव रहेको उनको भनाइ थियो।
आइजिपी अर्यालले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको सक्रिय भूमिका रहे पनि त्यसअनुसार स्रोत साधन नपाएको उल्लेख गरे। उनले मृतकका परिवारलाई २५ लाख रुपैयाँ बीमा दिने सोच भए पनि राज्यबाट थप सहयोग आवश्यक रहेको समेत उल्लेख गरे।




प्रतिक्रिया