काठमाण्डु– नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग राष्ट्रिय एकता गरेपछि आज आफू अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिएका छन्।
शुक्रबार एकता समारोहलाई सम्बोधन गर्दै उनले दुई पार्टी एक भएको देख्दा आफू धेरै खुसी भएको बताएका हुन् ।
उनले भने, ‘चार वर्ष लामो प्रयत्नपछि दुई पार्टी एक भएका छन्, आज म अत्यन्तै खुसी छु। अलिअलि होइन, साँच्चिकै धेरै खुसी।’
गौतमले विगत चार वर्षदेखि एकताको पहल सुरु गरेको उल्लेख गर्दै भने, ‘मेरो पार्टी कार्यालय यताबाट धेरै टाढा छैन, तर यहाँ आइपुग्न मलाई चार वर्ष लाग्यो। अन्ततः मैले चाहेजस्तै एकता भएको छ।’
आफ्नो संघर्षको अनुभव साझा गर्दै उनले भने, ‘म थर्ड डिभिजनबाट एसएलसी पास गरेको मान्छे हुँ। त्यसपछि धेरै हन्डर–ठक्कर खेपें। तर आज म ब्रह्माण्डमै विचरण गरिरहेको अनुभूति गर्छु—कहिले ‘क्वान्टम सिद्धान्तु त कहिले चेतनाको महासागरमा। साँच्चै, यो क्षण मलाई गहिरो सन्तोषको अनुभूति भएको छ।’
गौतमले आफू सय वर्ष बाँचेर पनि कम्युनिस्ट आन्दोलनलाई अघि बढाइरहने अठोट व्यक्त गरे।’१०० वर्ष बाँचेको खण्डमा अझ धेरै योगदान दिन सक्छु जस्तो लाग्छ,’ उनले भने, ‘मैले जीवनमा दुईवटा मूल लक्ष्य राखेको छु—एक, राजतन्त्रको अनत्य र अर्को, विभाजित कम्युनिस्ट शक्तिलाई एउटै पार्टीमा रूपान्तरण गर्नु।’




प्रतिक्रिया