काठमाण्डु – भारतका विदेशमन्त्री एस. जयशंकरले गत हप्ता चीनको भ्रमण गरे, जहाँ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र आफ्नो समकक्ष वाङ यीसहित शीर्ष नेताहरूसँग भेटघाट गरे ।
उनको भ्रमण त्यस्तो समयमा भएको हो, जतिबेला विगत केही वर्षयता जारी तनावपछि भारत र चीन द्विपक्षीय सम्बन्धलाई पुन: पटरीमा ल्याउने प्रयासमा छन् ।
सन् २०२० मा गलवानको झडपपछि भारतीय विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण थियो । भारत–पाकिस्तान बीचको संघर्षमा चीन खुलेर पाकिस्तानको पक्षमा उभिएको समयमा जयशंकरको चीन भ्रमण केवल औपचारिक कूटनीतिक यात्रा मात्र होइन, यसले केही गम्भीर प्रश्नहरू पनि खडा गरेको छ ।
भारत र चीनबीच कूटनीतिक सम्बन्ध सामान्य देखिए पनि जमिनको हकमा अझै गम्भीर र स्थायी चुनौतीहरू छन् । गलवान संघर्षपछि सम्बन्धमा आएको चिसोपन पूरै हटेको छैन ।
भारत–पाकिस्तानको तनावका बेला चीनले पाकिस्तानलाई समर्थन मात्र गरेको थिएन, हतियार समेत उपलब्ध गराएको थियो । यस्तो पृष्ठभूमिमा भारतीय विदेशमन्त्रीको चीन यात्रा अर्थपूर्ण ठानिएको छ ।
के भारत अमेरिकासँगको सम्बन्धमा सन्तुलन कायम राख्न चीनसँग निकटता बढाउन चाहन्छ ? के दक्षिण एसिया तथा अन्य विकासशील मुलुकहरूमा भारतको तुलनामा चीनको प्रभाव बढ्दो छ ? यस्ता प्रश्नहरू पनि उठेका छन् ।
गत वर्ष अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच रुसको कजानमा आयोजित ब्रिक्स सम्मेलनमा भेट भएको थियो । सन् २०२० मा उत्पन्न तनावपछि यो २ नेताबीचको पहिलो द्विपक्षीय भेट थियो ।
त्यसपछि भारत–चीन संवाद फेरि सुरु भयो । गत जुन महिनामा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र रक्षामन्त्री राजनाथ सिंह बेइजिङ पुगे र शांघाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी भए ।
सम्बन्ध रि–सेट

केही विश्लेषकहरूले अब जयशंकरको भ्रमणपछि यसलाई ‘सम्बन्धको रि–सेट’ भनेका छन् भने केहीले यसलाई केवल सांकेतिक भ्रमण मानेका छन् ।
भारतीय राजनीतिक विश्लेषक श्रुति पाण्डे भन्छिन्, ‘जयशंकरको यात्रा द्विपक्षीय सम्बन्धमा सुधार ल्याउने एक इमान्दार प्रयासका रूपमा हेरिनुपर्छ । अहिले विश्वभर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निर्णयहरूले अनिश्चितता पैदा गरेका छन् । अबका सम्बन्धहरू ट्रान्सनेसनालिज्ममा आधारित हुनुपर्छ भन्ने भारतले बुझेको छ । कहिले चीन समस्या हुन्छ, कहिले रूस, अब ट्रम्पका निर्णय समस्या बनेका छन् । त्यसैले जयशंकरको भ्रमणलाई यो पृष्ठभूमिमा हेर्नुपर्छ ।’
गत अप्रिलमा ट्रम्पले भारत र चीन दुवैमाथि ट्यारिफ (शुल्क) लगाएका थिए । चीनले यसको खुला विरोध गर्यो भने भारतले वार्ता गर्ने बाटो रोज्यो ।
नेपालका अन्तर्राष्ट्रिय राजनीतिक विशेषज्ञ पुष्प अधिकारी भन्छन्, ‘मुख्य मुद्दा सीमा हो तर अहिले त्यो पन्छिएको छ । त्यसको कारण ट्रम्पका नीतिहरू हुन्, जसले भारत र चीनलाई नजिक ल्याएको छ ।’
तर यदि भारतले अमेरिकी दबाबमा रूस र चीनबाट टाढा जान खोज्यो भने भारत–चीन सम्बन्ध धेरै पर जान नसक्ने उनको विश्लेषण छ । ‘जयशंकरको प्रयास सकारात्मक हो तर तत्काल निष्कर्ष निकाल्न सकिँदैन,’ उनले भने ।
पाकिस्तान, अमेरिका र रूसलाई सन्देश
जयशंकरको चीन यात्रा अहिले भारतको आन्तरिक राजनीतिमा पनि बहसको विषय बनेको छ । भारत–पाकिस्तान युद्ध हुँदा अमेरिकी राष्ट्रपति ट्रम्पले संघर्षविराम घोषणा गरेका थिए । पाकिस्तानले अमेरिकालाई धन्यवाद दिएको थियो भने भारतले भने उनको भूमिका अस्वीकार गरेको थियो ।
श्रुति पाण्डेले भन्छिन्, ‘भारत–पाकिस्तानको मुद्दा द्विपक्षीय हो । उस्तैगरी चीनसँग पनि भारत द्विपक्षीय सम्बन्ध राख्न चाहन्छ । तेस्रो पक्षले भारतसँगका सम्बन्धमा हस्तक्षेप गर्न सक्दैन ।’
भारतका लागि चुनौती
भारत र चीनबीच कूटनीतिक सम्बन्ध सामान्य देखिए पनि जमिनको हकमा अझै गम्भीर र स्थायी चुनौतीहरू छन् । गलवान संघर्षपछि सम्बन्धमा आएको चिसोपन पूरै हटेको छैन ।
चीनको पाकिस्तानसँगको निकटता र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) भारतको सुरक्षाका लागि चिन्ताको विषय बनेको छ । अर्कोतर्फ भारतको अमेरिका र क्वाडसँगको सहकार्य चीनका लागि असहज कारक बनेको छ ।
भारत–चीन व्यापार असन्तुलन पनि गम्भीर छ । भारतले चीनबाट धेरै आयात गर्छ तर निर्यात निकै कम छ ।
भारतमा दलाई लामाको उपस्थिति र तिब्बत सम्बन्धी विषयमा चीनको आपत्ति छँदैछ । साथै ब्रह्मपुत्र नदीमा चीनको गतिविधिप्रति भारतको गम्भीर चिन्ता छ ।
विश्लेषक अधिकारी भन्छन्, ‘भारतले चीनसँग सम्बन्ध विस्तार गर्न चाहन्छ भने अन्तर्राष्ट्रिय नीति स्पष्ट गर्नुपर्छ । चीन र भारत दुई सभ्यताहरू हुन्, जो सँगसँगै अघि बढेका छन् । यदि सही संयोजन भयो भने अमेरिका जस्ता शक्तिहरूको दबाब घटाउन सकिन्छ ।’
विश्लेषकहरूको भनाइमा जयशंकर, डोभाल र राजनाथ सिंहको भ्रमण चीनसँगको संवाद पुन: सुरु गर्ने भारतको प्रयास हो । तर दीर्घकालीन समाधानका लागि विश्वास र पारदर्शिता कायम गर्नु सबैभन्दा ठूलो चुनौती हो ।




प्रतिक्रिया