काठमाण्डु – नेकपा एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएर मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
सोमबार बिहान करीब १२ बजेदेखि सुरु भएको बैठक साँझ सवा ७ बजे सकिएको हो ।
पहिलो दिनको बैठकमा ४७ जना नेताहरूले धारणा राखेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार मंगलबारको बैठक बिहान ११ बजे बोलाइएको छ ।
सोमबार मधेश र गण्डकी प्रदेशका साथै उपत्यका विशेष कमिटी र सम्पर्क मञ्च कार्यक्षेत्र भएका केन्द्रीय कमिटीका सदस्यहरूले धारणा राखेका थिए । उनीहरू विधान संशोधनको प्रस्तावमाथि केन्द्रित रहेका थिए ।
अधिकांश वक्ताहरूले विधान संशोधनमा व्यवस्था गरिएको ७० वर्षे उमेर हद र २ पटकको कार्यकाल हटाउने विषयलाई समर्थन गरेका थिए । यसअघि एमाले सचिवालय र पोलिटब्युरो बैठकले पास गरेको विधान संशोधन प्रस्तावको व्यवस्थालाई समर्थन हुने गरी बोल्न ओलीले निर्देशनात्मक सम्बोधन गरेका बताइएको छ ।




प्रतिक्रिया