काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी केन्द्रीय कार्यालय च्यासलमा हँसिलो मुद्रामा भेटवार्ता भएपछि सतहमा देखिन थालेको विवाद मत्थर भएको अनुमान गरिएको थियो । तर त्यसयता एमालेभित्रको आन्तरिक कहल झन् बल्झिँदै गएको छ ।
पार्टी केन्द्रीय कमिटी बैठकको सुरुआतमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको नाममा अनावश्यक बयानबाजी गर्नेलाई कारवाही गर्ने धम्की दिनु र त्यसको भोलिपल्ट पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन नै गरेर त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुले विद्या–केपी टकराव छताछुल्ल भएको छ ।
मंगलबार निजी निवास भंगालमा पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेकाले पछि नहट्ने स्पष्ट पारिन् । उनले पार्टीभित्र कार्यकर्तालाई आतंकित पार्ने काम रोकिनुपर्ने बताइन् । ‘जिल्ला र प्रदेशदेखि नै ग्रुपिज्म गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको छ,’ उनले भनिन्, ‘अहिले जसरी कार्यकर्तालाई टेरर गर्ने, बोल्न नदिने र बोलेबापत कारवाही गर्ने भन्न थालिएको छ, यो ठीक छैन ।’
कठिन समयमा पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्वमा पुगेको बताउँदै उनले अनावश्यक विवाद उचाल्न खोजिएकोमा आपत्ति जनाइन् । सम्मानित र नैतिकवान व्यक्ति दलीय राजनीतिमा आउन नहुने तर्कलाई खण्डन गर्दै उनले भनिन्, ‘दल चाहिँ अनैतिक अखडा हो ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ नि !’
उनले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको र अध्यक्ष ओलीसँग कुरा भएको बताइन् । तर एमालेको संस्थापन पक्षले सदस्यता नवीकरण नभएको र कमिटीले निर्णय गर्ने तर्क गरेको थियो । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता ‘पेन्डिङ’ राखिएको जानकारी दिएका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले आफू दलीय राजनीतिबाट पछि फर्किन नसक्ने अडान लिइरहेका बेला एमालेको संस्थापन पक्षले भने उनलाई एमालेमा पस्दै नदिने योजना बनाएको छ । अध्यक्ष ओलीको धम्कीपछि केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले पूर्वराष्ट्रपतिलाई पार्टीमा आउन दिन नहुने मत राखिरहेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले निजी निवासमा पत्रकारलाई भेटेर आफू पछि नहट्ने जानकारी दिइरहँदा केन्द्रीय कमिटी बैठक स्थलमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नहुने गरी निर्णय हुनसक्ने संकेत गरे । उनले भने, ‘उहाँको पार्टी सदस्यता प्राविधिक विषय हो, यसमा राजनीतिक निर्णय हुनुपर्छ । बैठकमा राष्ट्रध्यक्ष भइसकेको, राष्ट्रिय एकताको प्रतिक भइसकेको, संविधानको प्रमुख पालनकर्ता र संरक्षक भएको, नेपाली सेनाको परमाधिपति भइसकेको, साझा व्यक्तित्व, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिकको रूपमा देशको अभिभावक भइसकेको व्यक्तिले कुनै दलमा आउने कि नआउने विषय टेक्निकल विषय होइन, एउटा पार्टी विशेषको विषय होइन, यो महत्त्वपूर्ण राजनीतिक विषय हो । यसले भोलि जनता, प्रणाली र व्यवस्थामा के प्रभाव पर्छ ? संविधानको मर्म र भावनाको कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा महत्त्वपूर्ण राजनीतिक निर्णय गर्नुपर्छ भन्ने अधिकांश केन्द्रीय सदस्यको जोड छ । हामीले अगाडिदेखि भन्दै आएका छौं, यो निकै महत्त्वको विषय भएकाले उच्च तहको फोरममा निर्णय लिन्छौं भनेका छौं । केन्द्रीय कमिटीको बैठक यो विषयमा निष्कर्षमा पुग्छ । केन्द्रीय कमिटी यो विषयमा गम्भीर छ, आजकै बैठकमा आवश्यक निर्णय लिन्छ ।’
एमाले केन्द्रीय कमिटीले भण्डारीलाई पार्टीमा सक्रिय हुन नदिने गरी निर्णय गर्ने तयारी गरिरहँदा भण्डारी भने पछि नहट्ने अडानमा छिन् । यसले एमालेमा टकराव र विवादको अवस्था झन् बढ्ने देखिएको छ ।




प्रतिक्रिया