बगैंचामा फूल स्वतन्त्र रूपले फुल्न पाउनुपर्छ । ‘मेरो गल्ती नै उससित विवाह गर्नु थियो । गल्तीले विवाह भयो, बालबालिका पनि भए तर हाम्रो कहिल्यै मन मिल्न सकेन । सँगै बस्न सक्ने वातावरण नै भएन, धेरै समस्या भयो, छोडिदिएँ,’ रमा (नाम परिवर्तन) ले भनिन्, ‘जिन्दगीमा गल्ती हुनु स्वाभाविक हो । गल्ती सुधार गर्ने उपाय पनि त हुनुपर्यो । मनै नपर्नेसँग कसरी जीवन बिताउनु ? मनै नपर्नेसँग जसरी नाता जोडियो, त्यसैगरी फेरि नाता टुट्यो । म खुशी छु, आफ्नो व्यवसाय गरेको छु । बालबालिका पढाएको छु । मेहनत गरेको छु । तर यो समाज मलाई औंला उठाउन खोज्छ– घर गरेर खान सकिन भनेर । यो समाजलाई दह्रो पाठ सिकाउन मन छ ।’
उनको कुराले म झसङ्ग भएँ । के सम्बन्धविच्छेद गर्नै नहुने हो र ? के सम्बन्धविच्छेद गर्नु सामाजिक अपराध नै हो त ? पक्कै पनि होइन । समाजले यो कुरा स्वीकार्नुपर्छ, जबसम्म सम्बन्ध मिठो छ, ठीक छ । विचार मिलेन, दिनहुँ कलह हुन्छ, मानसिक अवस्थामै खलल पुग्छ भने छुट्टिनु राम्रो । सम्झौताकै नाममा बसिरहँदा त्योभन्दा ठूलो दुर्घटना पनि घट्न सक्छ, समाजमा यसका उदाहरण पनि थुप्रै छन् । कसैको व्यक्तिगत कुरामा चासो राख्नु मानव अधिकारको हनन् गर्नु हो । समाजले मानव अधिकारको हनन् हुने काम गर्नु हुँदैन । तर हाम्रो समाज विकृतितिर नै बढी ढल्केको देखिन्छ ।
अर्को दृष्टान्त – ‘हामी स्कूलदेखिकै साथी थियौं । सम्बन्ध राम्रो थियो । भागेर विवाह गर्यौं । काठमाण्डु गएर ज्याला मजदुरी गर्न थालें । पढाइ छुट्यो । एउटी छोरी पनि भइन् । २ वर्षकी छोरी छाडेर ऊ अरुसँगै फेरि भागी । पछि डिभोर्स दिएँ । अब छोरी पनि १५ वर्षकी भइन् । बुवाआमा बूढाबूढी हुनुभएको छ । अब फेरि विवाह गर्ने सोच त बनाएको छु । कतै–कतै अझै पनि मनमा संकोच लाग्छ– फेरि त्यस्तै हुने पो हो कि ! छोरीले अनि समाजले के भन्लान् !’ निधारतिर पसिना पुछ्दै हरिप्रसाद (नाम परिवर्तन) ले भने ।
हरिप्रसादको अर्को मार्मिक कथा रहेछ । जाने गयो, बस्ने बस्यो, जाने पनि खुशी हुनुपर्छ, बस्ने पनि खुशी हुनुपर्छ । यो जीवन फेरि मिल्दैन । तर यो समाज किन यस्ता पीडितहरूको समस्या बुझ्दैन ? के यो समाजभित्र लडाइँ–झगडा गर्ने तर बाहिर राम्रो देखाउने नक्कली समाज हो ? यस्ता दृष्टान्त लगभग हरेक घरमा हुने गरेका छन् ।
मलाई लाग्छ, हामो समाज नक्कली छद्मभेषी समाज हो । हाम्रो समाजमा लुकेर जे पनि हुन्छ, खुलेर केही पनि हुँदैन । यो नक्कली समाजको हामीलाई किन यति चिन्ता लाग्छ होला । गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्छ । जाने गइसक्यो, हुने भइसक्यो । अब समाज किन कुरा काटेर बस्छ ? मानिस स्वतन्त्र छ । मानिसको व्यक्तिगत जीवनसँग समाजको कुनै लेनदेन छैन । अपराध गर्ने अपराधीलाई कानूनले नै सजाय गर्छ । देशमा नियम, कानून र लोकतन्त्र छ । व्यक्तिगत कुरा काटेर समय बर्बाद गर्ने, काम उद्योगधन्दा केही नगर्ने, मानवअधिकार हनन् गर्ने समाजलाई नै कारबाही गर्नुपर्छ ।
बोलेर, कुरा काटेर भात पचाउने समाजका ठालु–लाउकेहरूलाई समातेर मानव अधिकार हनन्को मुद्दामा जेल हाल्नुपर्छ । चिया पसल र भट्टी पसलमा व्यक्तिगत कुरा काटेर गफ चुटेर बस्नेलाई स्थानीय सरकारले रोजगारीको व्यवस्था गर्नुपर्छ । कानूनी परामर्श दिनुपर्छ ।
नेपालको पारिवारिक सामाजिक मर्यादाको कानूनले वैवाहिक सम्बन्धलाई सामाजिक र कानूनी रूपमा दुवै दृष्टिकोणबाट महत्वपूर्ण मानेको छ । तर दाम्पत्य जीवनमा अर्थात् पतिपत्नीमा उत्पन्न हुने द्वन्द्व, अविश्वास, हिंसा वा अन्य कारणहरूले गर्दा वैवाहिक सम्बन्ध अन्त्य गर्ने प्रवृत्ति बढ्दो छ । नेपालको विद्यमान कानूनी संरचनाले सम्बन्धविच्छेदलाई वैधानिक मान्यता दिएको छ, जसमा दुवै पक्षको अधिकार, दायित्व र न्याय प्राप्तिको प्रक्रिया समेटिएको छ । त्यसैले सम्बन्धविच्छेद जायज छ । यो वैधानिक र विधिसम्मत प्रक्रिया हो ।
कानून विपरीत बोल्ने अधिकार कसैलाई छैन । समाज सुध्रिनुपर्छ । समाजले सोच्नुपर्छ – यो हिंसा, त्यो पीडा र त्यो असहज परिस्थितिमा ऊ कसरी बसोस् ? सम्बन्धविच्छेद रहर होइन, बाध्यता र परिस्थिति हो । यो बाध्यतालाई समाजले सकारात्मक रूपले लिनुपर्छ । जसरी गर्व साथ एक भयौ, कुरा मिलेन गर्वसाथ छुट्टै भयौ भन्न सक्ने हुनुपर्छ ।
परिवारले पनि मेरो छोरा वा छोरी छुट्टै भए, मिलाउने ठाउँ भएन छुट्टै भए भनेर सहर्ष स्वीकार गर्न सक्नुपर्छ । सम्बन्धविच्छेद भएका व्यक्तिले पनि समाजमा सरल रूपमा बाँच्न पाउनुपर्छ, नकि अपहेलना, चरित्रहत्या या आलोचनामा बाँच्नु परोस् ।
नेपालको वर्तमान नागरिक संहिता, २०७४ ले वैवाहिक सम्बन्धविच्छेदका लागि विस्तृत कानूनी प्रावधानहरू स्पष्ट पारेको छ । संहिताको भाग ३, वैवाहिक सम्बन्धअन्तर्गत, धारा ९४–१०४ सम्ममा सम्बन्धविच्छेदका आधार, प्रक्रिया र पक्षद्वारा अपनाउन सकिने उपायहरूको वर्णन गरिएको छ । यसले श्रीमान् वा श्रीमती दुवैले सम्बन्धविच्छेदको निवेदन गर्न सक्ने अधिकारलाई सुनिश्चित गरेको छ ।
कानूनले स्पष्ट सम्बन्धविच्छेदको अधिकार दिएको छ । समाज, नियम, जात, धर्मको आधारमा कसैको मानव अधिकार हनन् गर्न मिल्दैन । समाजले कानूनको भावना अनुरूप सकारात्मक सोचको विकास गर्नुपर्छ । मन रहे पो माया पिरती, मनै मरे केको तिर्सना ….. बालै भएन ।
जीवन स्वतन्त्रता हो । कानूनले नै तोकेका प्रमुख आधारहरूमा लगातार ३ वर्षभन्दा बढी समयदेखि सम्पर्कविहीन हुनु, चरम हिंसा गर्नु वा सहवासमा असमर्थ हुनु, गम्भीर रोग, मानसिक समस्या वा अर्कोसँग अनैतिक सम्बन्ध स्थापना गर्नु रहेका छन् । सम्बन्धविच्छेदको यिनै आधारहरू अदालतले प्रमाण र कारण हेरेर मूल्यांकन गर्छ । अदालतले अन्याय गर्दैन । संविधानत: विच्छेद अदालतमार्फत मात्र वैधानिक हुन्छ । निवेदकले जिल्ला अदालतमा निवेदन दर्ता गर्नुपर्छ । कानूनअनुसार अदालतले दुवै पक्षलाई सुनुवाइको अवसर दिएर सन्तुलित निर्णय दिनुपर्ने व्यवस्था छ । यदि दुवै पक्षको सहमति छ भने प्रक्रिया तुलनात्मक रूपमा सरल हुन्छ । तर एकल पक्षद्वारा निवेदन दिँदा थप प्रमाण र कानूनी प्रक्रिया आवश्यक हुन्छ । त्यसैले छुट्टिनु नै छ भने सौहार्द रूपले नै छुट्टिनु राम्रो हुन्छ । प्रेममा बन्धन होइन, स्वतन्त्रता हुन्छ । जानेलाई जान दिनुपर्छ । मान्छे तयार नभई कतै जाँदैन र तयार भएपछि कसैले रोकेर रोकिन्न । जान्छ नै । त्यसैले सम्बन्धविच्छेद सामान्य प्रक्रिया हो, सम्मानित प्रक्रिया हो ।
कानूनी अधिकार सुनिश्चित भए तापनि नेपालमा व्यवहारमा अझै महिलाहरूलाई विशेषत: आर्थिक रूपमा आश्रित र ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरूलाई सम्बन्धविच्छेद गर्न वा न्याय खोज्न सहज छैन । सामाजिक लाञ्छना, पुरुषप्रधान सोच र अदालतको ढिलासुस्त प्रक्रिया प्रमुख चुनौती हुन् । यद्यपि सम्बन्धविच्छेद गर्ने अवस्थामा पुगिसकेपछि यस्ता चुनौती सामान्य हुन् । तैपनि विच्छेदपछि सम्पत्ति विभाजन, सन्तानको अभिभावकीय हक र सन्तान भरणपोषणका विषयमा अस्पष्टता देखिन्छ ।
सम्पत्ति त के हो र सन्तानको भविष्य महत्त्वपूर्ण हुन्छ । बालबालिकालाई टुहुरो महसूस हुन दिनु हुँदैन । आफू खुशी हुँदा अर्को कोही दु:खी नहोस् । कसैले पीडा महसूस गर्नु नपरोस् । सबैको राम्रो होस् भन्ने सकारात्मक सोच राख्नुपर्छ ।
नेपालमा सम्बन्धविच्छेद कानूनी रूपमा स्थापित भए तापनि व्यावहारिक पक्षमा सुधारको व्यापक ठूलो आवश्यकता छ । राज्यले पहुँचयुक्त कानूनी सेवा, लैङ्गिक न्याय र सामाजिक पुन:स्थापनाको व्यवस्था गर्नु आजको आवश्यकता हो । प्रमुख दायित्व नै हो । यस्ता सुधारले मात्र सम्बन्धविच्छेद प्रक्रिया न्यायोचित र प्रभावकारी बन्न सक्छ र समाजले सत्यलाई स्वीकार गर्न सक्छ । समाज बदलिनुपर्छ । समयअनुसार चल्नुपर्छ । पुराना रुढीवादी परम्परा तोड्नुपर्छ । विकास र प्रगतिको मार्गमा हिँड्नुपर्छ । बन्धन होइन, स्वतन्त्रता चाहिन्छ । मानव अधिकार र कानूनी राज्यको प्रत्याभूति हुनुपर्छ । यहीँ बगैंचाका फूल हामी यहीँ स्वतन्त्र फुल्न पाउनुपर्छ ।




प्रतिक्रिया