काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा मंगलबार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका मनिष थापा तथा प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका ई.मिलनमान मास्केलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा विशेष बढुवा भएका ईश्वरी बहादुर पुन, चाम नारायण महतो र रित बहादुर बस्नेतलाई समेत दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
गृहमन्त्रीस्तरको २०८२ साउन १२ गतेको निर्णयले सशस्त्र प्रहरी नायव महानिरीक्षक र प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरिएको हो । महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरूलाई हार्दिक बधाई दिनुको साथै संगठनप्रतिको कर्तव्य परायणता र समपर्ण भाव र योगदान तथा आत्मविश्वासको उच्च मूल्यांकन गरी बढुवा गरिएको बताउँदै पदीय जिम्मेवारीमा उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ कार्यक्षेत्रमा आमनागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न निर्देशन दिए ।
उनले लैङ्गिक हिंसामा शुन्य सहनशिलता, आर्थिक अनुशासन, मानवअधिकारको संरक्षण र सम्वर्द्धनमा हरहमेसा कटिबद्ध भई पूर्ण व्यावसायिकतासाथ लाग्नुपर्ने उल्लेख गर्दै आपसी भाइचारा, बन्धुत्व, सद्भाव एवं सहयोगी भावनाका साथ संगठनप्रति निष्ठावान हुँदै अनुशासित र ईमान्दारितापूर्वक आफ्ना कामकारवाही अगाडि बढाउनुपर्ने बताए ।
महानिरीक्षक अर्यालले लामो समयसम्म संगठनमा आवद्ध भई संगठनलाई पुर्याएको योगदान प्रशंसा गर्दै अवकाश पूर्व विशेष बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको अवकाश पश्चातको जीवन सुखमय रहोस् भनी शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृतहरू र विल्लादार जवानहरूको समेत उपस्थिति थियो ।




प्रतिक्रिया