भारतलाई रूससँगको दोस्ती महँगो पर्‍यो !

भारतलाई रूससँगको दोस्ती महँगो पर्‍यो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १ अगस्ट अर्थात् शुक्रबारदेखि भारतमाथि २५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन् ।

यसको अर्थ भारतबाट अमेरिका जाने सबै सामानमा अब २५ प्रतिशत आयात शुल्क लाग्नेछ । भारतले रूसबाट तेल र सैनिक उपकरण किनेको कुरालाई औंल्याउँदै ट्रम्पले २५ प्रतिशतभन्दा बढी शुल्क लगाउने घोषणा गरेका हुन् ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘भारतले रूसबाट तेल र सैनिक सामग्री किन्दै आएको छ, जसले युक्रेनमा जारी युद्धमा रूसलाई सहयोग पुगिरहेको छ । त्यसको मूल्यस्वरूप भारतलाई अतिरिक्त दण्ड तिर्नुपर्छ ।’

यो घोषणा यस्तो समयमा आएको जतिबेला भारत र अमेरिकाबीच व्यापार सम्झौताका लागि महिनौँदेखि वार्ता चलिरहेको थियो । ट्रम्पले १ अगस्टको समयसीमा दिएका थिए तर सहमति नजुटेपछि समयसीमाको दुई दिनअघि नै उनले भारतविरुद्ध शुल्कको घोषणा गरिदिए ।

अब सबैभन्दा ठूलो प्रश्न के छ भने के भारत ट्रम्पको धम्कीपछि रूसको मामलामा झुक्नेछ ? दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा रूस तथा मध्य एशिया अध्ययन केन्द्रका एसोसिएट प्रोफेसर डा. राजन कुमार भन्छन्, ‘यदि ट्रम्पले तेलको मामलामा जोड दिए भने भारत केही हदसम्म झुक्न सक्छ । यसको अर्थ के हो भने अहिले भारतले कुल तेल आयातको ४० प्रतिशत रूसबाट लिइरहेको छ र यदि ट्रम्पले दबाब बनाइ रहे भने यसलाई २० प्रतिशतमा झार्न सक्छ ।’

तर भारतका पेट्रोलियम मन्त्री हरदीप सिंह पुरी भारत कुनै पनि दबाबमा नरहेको बताउँदै भने, ‘भारतको तेल आयात कुनै एक देशमा मात्र निर्भर छैन । यदि केही अप्ठ्यारो परे हामी सामना गर्न सक्छौं ।’

यसको अर्थ तेल आपूर्तिसम्बन्धी विषयमा भारतसँग रूसबाहेक पनि विकल्प छन् । तर रक्षा आपूर्तिको कुरामा के भारतको विकल्प छ?

डा. कुमार भन्छन्, ‘सबैभन्दा ठूलो मुद्दा यही हो । भारत रक्षा सामग्रीको मामलामा ट्रम्पको धम्कीअघि झुक्ने छैन । ट्रम्प चाहन्छन् कि भारतले रूसको सट्टा अमेरिकाबाट सैनिक उपकरण किनोस् । तर भारत त्यसमा तयार हुने छैन, किनकि रूसले केवल हतियार मात्र होइन, त्यसको प्रविधि पनि दिन्छ, तर अमेरिकाले प्रविधि दिन्न ।’

तर रक्षा विश्लेषक राहुल बेदीको धारणा भने फरक छ । उनी भन्छन्, ‘भारतसँग रूसबाहेक रक्षा सहयोगमा धेरै विकल्प छैनन् । अहिले ६०–७० प्रतिशत सैन्य उपकरण युएसएसआर वा रूसका छन् । ती उपकरणहरूको मर्मत, पार्टपूर्जा र अपग्रेडको मामिलामा भारत पूर्ण रूपमा रूसमा निर्भर छ ।’

यदि भारत अमेरिकी दबाबमा आएर रूसबाट टाढा जान्छ भने त्यसले रूसलाई अझ बढी चीनमा निर्भर बनाउँछ । र पाकिस्तानसँग रूसको नजिकिन सक्ने जोखिम पनि बढ्छ ।

रूसले अहिले आफ्नो कुल तेल निर्यातको ४७ प्रतिशत चीनमा गर्दै आएको छ । र रूससँग अब चीनबाहेक अरू विकल्प छैन ।भारतीय विश्लेषकहरू अमेरिका भारतका लागि रूसको विकल्प बन्न सक्छ भन्ने विचारमा सहमत छैनन् । ‘यदि भारतले रक्षा सामग्रीको मामिलामा अमेरिकासँग सम्झौता गर्न सकेन भने बहुत कठिन परिस्थिति आउन सक्छ । नयाँ हतियार ल्याउँदा धेरै खर्च र समय लाग्छ’ रक्षा विश्लेषक बेदी भन्छन् ।

आजको मितिमा यदि भारतले अमेरिकी हतियार र उपकरण लिन थाल्यो भने त्यो महँगो मात्र होइन, प्रशिक्षण, मर्मत, अपग्रेड आदि पनि गाह्रो हुने रक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।

रूससँग दूरी बढ्दा के हुनेछ ?

भारत पहिले नै चीन र पाकिस्तानको गठबन्धनसँग जुझिरहेको छ । यस्तो बेला उसले रूस त्यो गठबन्धनमा नजाओस् भन्ने भारत चाहन्छ ।

चीनसँग झगडा हुँदाहुँदै पनि अमेरिका–चीन व्यापार घटेको छैन । त्यसैले भारतले रूसलाई चीनको काखमा जान नदिन रणनीति बनाउनु पर्ने विज्ञहरूको धारणा छ ।

ट्रम्पको ट्यारिफ धम्कीले भारतको रक्षा, कूटनीति, र रणनीतिक स्वतन्त्रता तीनै क्षेत्रमा प्रभाव पार्ने देखिन्छ । जानकारहरू भन्छन्–भारत न त सजिलै झुक्न सक्छ, न त अमेरिका भरोसायोग्य विकल्प बन्न सक्छ ।