काठमाण्डु– नेपालले अर्को वर्ष अन्तर्राष्ट्रिय महिला क्रिकेटको ऐतिहासिक आयोजना गर्न लागेको छ। आईसीसी महिला टी–२० विश्वकप २०२६ को ग्लोबल छनोट प्रतियोगिता २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा आयोजना हुने भएको हो ।
इंग्ल्यान्ड र वेल्समा आयोजना हुने २०२६ को महिला टी–२० विश्वकपका लागि अन्तिम चरणको छनोट प्रतियोगिता काठमाण्डुमा हुँदैछ, जहाँ विश्वभरका १० उत्कृष्ट टोलीहरूले सहभागिता जनाउनेछन्। यी मध्ये उत्कृष्ट चार टोलीले विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।
बंगलादेश र आयरल्यान्डले २०२४ को विश्वकपमा सहभागिता जनाइसकेकाले उनीहरू स्वतः २०२६ को विश्वकपका लागि छनोट भइसकेका छन्।
एसिया क्षेत्रबाट थाइल्यान्ड र नेपालले छनोट चरणमा स्थान पक्का गरेका छन् भने अमेरिकाले अमेरिकी क्षेत्रको कोटा सुरक्षित गरिसकेको छ। अब बाँकी ५ स्थानका लागि अफ्रिकाबाट २, युरोपबाट २ र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट १ टोली छनोट हुनेछन्।
नेपालमा आयोजना हुने प्रतियोगितामा सहभागी १० टोलीलाई ५–५ को दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि ‘सुपर सिक्स’ चरण हुनेछ, जसपछिको फाइनलबाट शीर्ष चार टोली विश्वकपका लागि छनोट हुनेछन्।
छनोट खेलको विस्तृत तालिका आईसीसीले निकट भविष्यमै सार्वजनिक गर्ने जनाएको छ। यस प्रतियोगिताले नेपाली महिला क्रिकेटको विकासमा ऐतिहासिक मोड ल्याउने विश्वास गरिएको छ।




प्रतिक्रिया