काठमाडौं – मुलुकमा सबैभन्दा भ्रष्टाचार शिक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका निकायमा हुने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा अन्य क्षेत्रमा भन्दा शैक्षिक क्षेत्र र संघीय मामिला मन्त्रालयअन्तर्गतका निकायमा बढी भ्रष्टाचार हुने गरेको उल्लेख छ।
आयोगले प्रतिवेदन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। शैक्षिक क्षेत्रमा भ्रष्टाचार भएको उजुरी धेरै परेको प्रतिवेदनमा उल्लेख छ। आयोगमा परेका कुल उजुरीमध्ये १८.३२ प्रतिशत शैक्षिक क्षेत्रसँग सम्बन्धित छ। त्यसपछि संघीय मामिलासँग सम्बन्धित उजुरी १८.०२ प्रतिशत छ। अहिले शिक्षा मन्त्रालयको नेतृत्व गिरिराजमणि पोखरेलले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व लालबाबु पण्डितले गरिरहेका छन्।
आर्थिक वर्ष २०७४-७५ मा शिक्षा क्षेत्रसँग १८.३२, संघीय मामिलासँग १८.०२, भूमिसँग ६.४८, वनसँग ४.४८, स्वास्थ्यसँग ४.३७, गृह प्रशासनसँग सम्बन्धित ४.१३ प्रतिशत उजुरी परेका छन्,’ प्रतिवेदनमा उल्लेख छ, ‘भौतिक पूर्वाधार तथा यातायाततर्फ २.२८ प्रतिशत, अर्थ मन्त्रालयतर्फ २.५९ प्रतिशत र अन्य क्षेत्रसँग ३८.८ प्रतिशत उजुरी परेको छ।’
आयोगका प्रवक्ता रामेश्वर दंगालले भ्रष्टाचार गर्ने प्रवृत्ति पुनरावृत्ति भइरहेकाले आयोगले नियन्त्रणका लागि हरदम प्रयास गरिरहेको बताए। ‘मुख्य रूपमा सार्वजनिक पदधारण गरेका व्यक्तिले गर्ने भ्रष्टाचार आर्थिक लेनदेनसँग गाँसिएको विषय भएकाले सरकारी ढुकुटीमा रकम प्राप्त गर्ने र सरकारी कोषबाट खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार गर्ने प्रवृत्ति विद्यमान छ,’ दंगालले भने।यो खबर आजको नागरिक दैनिकमा छ ।




प्रतिक्रिया