भारतले धौलीगङ्गा जलविद्युतको बाँधको ढोका खोल्दा महाकालीमा पानीको बहाव बढ्यो

भारतले धौलीगङ्गा जलविद्युतको बाँधको ढोका खोल्दा महाकालीमा पानीको बहाव बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ ।

मंगलबार बिहानदेखि उक्त बाँधको ढोका खोलेपछि महाकालीमा पानीको बहाव बढेको छ ।

महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाले सफाइ गर्न मङ्गलबार बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीलाई पत्राचार गरेको थियो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले सो क्षेत्रका बासिन्दालाई सतर्ककता अपनाउन आग्रह गरेका छन् ।

महाकालीमा पानीको बहाब बढेपछि महाकाली नदीमा रहेको पक्की पुलमा चार पाङ्ग्रे सवारीसाधन चलाउन रोक लगाइएको छ ।

महाकालीमा पानीको बहाव प्रति सेकेण्ड १ लाख २ हजार ७४२ क्युसेक पुगेपछि आज बिहानैदेखि ४ पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।