विद्यालय शिक्षा विधेयकमा छलफल हुँदै, आजै पारित गर्ने तयारी

विद्यालय शिक्षा विधेयकमा छलफल हुँदै, आजै पारित गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहीबार बस्दैछ ।

समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । बैठकले बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल गर्नेछ । यस अघि पटक पटक बसेको बैठक अनिर्णित हुदा समिति निष्कर्षमा पुग्न सकेको थिएन।

समितिका एक सदस्यका अनुसार बैठकबाट विधेयक पारित गर्ने तयारी छ । समितिका सभापति अम्मरबहादुर थापाले केही विवादित दफाहरूमा सहमति जुटिसकेको बताए । थापाका अनुसार बुधबार बसेको परामर्श उपसमितिको बैठकमा केही विवादित दफाहरू मिलेका छन् ।

उनले भने, ‘आज समितिको बैठकले थप छलफल गरेर पारित गर्छ । समितिबाट पारित भएपछि प्रतिवेदन बनाएर प्रतिनिधिसभामा पेस हुन्छ ।’

यस अघि गत असर २२ गते नै समितिबाट विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो।

गत चैत २० गतेदेखि शिक्षकले शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर काठमाण्डुको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरेका थिए ।

त्यसपछि वैशाख १७ गते सरकारले नेपाल शिक्षक महासंघसँग असार १५ भित्र विधेयक पारित गर्ने प्रतिबद्धतासहित ९ बुँदे सहमति गरेको थियो ।

महसंघले समितिको बैठकले लिने निर्णयको आधारमा आगामी रणनीति बनाउने जनाएको छ ।

समितिमा पूर्वप्राथमिक शिक्षा (ईसीडी) कार्यकर्तालाई शिक्षक मान्ने/नमान्ने, ईसीडीलाई स्थानीय तहमा राख्ने/नराख्ने, आन्तरिक र बाह्य पदपूर्तिको ६०/४० र शिक्षकतर्फबाट ७५/२५ को अडानमा विवाद छ ।

यस्तै आवधिक बढुवा, शिक्षकहरूको कार्यसम्पादन मूल्यांकनको नम्बरलगायत विषयमा समितिमा सहमति जुट्न सकेको छैन ।