काठमाण्डु – सशस्त्र प्रहरीमा एसएसपी, एसपी र डीएसपीहरूको बढुवामा राजनीतिक हस्तक्षेप निस्तेज पारेको भन्दै पूर्वसशस्त्र प्रहरी महानिरीक्षकले आईजी राजु अर्यालको प्रशंसा गरेका छन् ।
पूर्वसशस्त्र प्रमुख पुष्पराम केसीले सामाजिक संजालबाट आईजी अर्यालले गरेको कामको प्रशंसा गरेका हुन् ।
सशस्त्र प्रहरीले हालै ७७ पदमा बढुवा सिफारिस गरेको थियो । सशस्त्रले ६ जना एसएसपी, २२ जना एसपी र ४८ जना डीएसपीको बढुवा सिफारिस गरेको हो ।
यसअघि सशस्त्र प्रहरीको बढुवा र सरुवामा सधैजस्तो विवाद हुने गरेपनि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पदमा आएपछि उनले बढुवा र सरुवामा एउटा मानक बनाएका छन् ।
अर्यालले यसपटकको बढुवामा समेत चर्को राजनीतिक दबाबका बावजुद जेष्ठता, व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्यांकनलाई प्राथमिकतामा राख्दै रिक्त पदमा बढुवा अघि बढाएका हुन् ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षमा बढुवा सिफारिसमा दोश्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरू हुन भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरू तेश्रो ब्याच, सोही ब्याचका वैकल्पिक समूहमा परेका तथा चौथो ब्याचबाट जेष्ठता, व्यावसायिक क्षमता तथा कार्य सम्पादन मूल्यांकनलाईसमेत आधार मानेर गरिएको सशस्त्रले जनाएको छ ।
यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका अधिकृतहरू ९औं ब्याचका रहेका छन् ।
पूर्वसशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बलको गौरवपूर्ण मूल्य, मान्यता र संस्कारलाई अक्षुण्ण राख्दै जेष्ठता र कार्य सम्पादनलाई प्रधान आधार बनाइ बढुवा प्रक्रियामा कुनै पनि प्रकारको हस्तक्षेपलाई सफलतापूर्वक निस्तेज पार्न सफल भएकोमा सशस्त्रका प्रमुख अर्याललाई धन्यवाद दिएका छन् ।
उनले संस्थागत मर्यादालाई सर्वोच्च प्राथमिकता दिने नेतृत्वप्रति गर्वित बन्न समेत आह्वान गरेका छन् । केसी अर्यालभन्दा अघि सशस्त्रको प्रमुख थिए ।





प्रतिक्रिया