रवि बसेको कोठाको झ्याल पूर्ण रूपमा बन्द छ, शौचालयको त कुरै नगरौं : मानव अधिकार आयोग

रवि बसेको कोठाको झ्याल पूर्ण रूपमा बन्द छ, शौचालयको त कुरै नगरौं : मानव अधिकार आयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सहकारी ठगी प्रकरणमा रुपन्देहीस्थित भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मौलिक अधिकार हनन् भएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले स्थलगत अनुगमन गरेको छ।

आयोगकी आयुक्त लिली थापाको नेतृत्वमा सोमबार कारागार पुगेको टोलीले लामिछाने बसेको कोठा र कारागारको अवस्था निरीक्षण गरेको हो।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले लामिछानेलाई पत्रपत्रिका पढ्न नदिएको र बसेको कोठाको झ्याल पूर्ण रूपमा बन्द गरिएको पाएको बताइन्।

उनका अनुसार सुरक्षाको नाममा हावा नजाने कोठामा राख्नु गलत हो। “कैदीबन्दीको सुरक्षा सरकारको जिम्मा हो, तर यो अवस्थामा त्यो सुनिश्चित भएको छैन,” थापाले भनिन्। उनले लामिछानेलाई बाहिर हिँडडुल गर्ने र स्वच्छ हावा लिने सुविधा नपाएकोबारे पनि चासो व्यक्त गरिन्।

उनका अनुसार लामिछानेको कोठामा कुलर नभए पनि दुईवटा पंखा छन्। उनले पर्याप्त संरचना नहुनु र कारागार नियमको पालना नगर्नु सरकारको कमजोरी भएको टिप्पणी गरिन्।

थापाले लामिछानेको स्थानान्तरणका लागि अदालतले अनुमति दिए पनि त्यसको कार्यान्वयन नभएको र आफन्तसँग भेट गर्ने अवसर नदिएकोबारे आयोगको ध्यानाकर्षण भएको बताइन्। “अदालतको आदेश भए पनि स्थानान्तरण किन भएन भन्नेबारे कारागार व्यवस्था विभागसँग आयोगस्तरमै कुरा हुनेछ,” उनले भनिन्।

कारागार प्रमुखले लामिछानेको कोठाको बन्द झ्याल हावाका लागि खोलिदिने आश्वासन दिएको थापाले जानकारी दिइन्। शौचालय र अन्य आधारभूत सुविधाको अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले उनले भनिन् ‘शौचालय यस्तो छ कि के भन्ने ? यो त नेपाल सरकारकै कमजोरी हो ।’