काठमाण्डु – काठमाण्डु महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ ।
प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ ।
खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ । सम्मान कार्यक्रममा काठमाण्डु महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजक लगायतको उपस्थिति थियो । सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको बताए । कार्यक्रममा केसीले थपे, ‘महानगरपालिकाले नेपालको तर्फबाट खेल्ने टोलीहरूलाई विगतमा पनि सम्मान गर्दै आएको छ र भविष्यमा पनि निरन्तरता दिनेछ ।’
नेपालका रवीन्द्र ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए ।
उनले भने, ‘हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु । अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु । यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ ।’
खोखोको पुरुष टोलीले नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग ५४–३६ को अन्तरले पराजय व्यहोरेको थियो । खोखो टोलीका कप्तानले मन्तव्य राख्दै सम्मानले हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे ।
उनले भने, ‘हामी कबड्डीको खेलमा जाँदा जस्तो उत्साह थियो, त्यस्तै उत्साह अहिले काठमाण्डु महानगरपालिकाले सम्मान कार्यक्रम गरेर थपिदिएको छ । हामी खेलाडीको तर्फबाट यो सम्मानले निकै खुशी लागेको छ । गुरुहरू र सबैलाई धन्यवाद दिन चाहन्छु ।’
महिला टोलीले फाइनलमा भारतसँग ७८–४० को अन्तरले पराजय व्यहोरेको थियो ।




प्रतिक्रिया