वैदेशिक रोजगार ठगी मुद्दामा फरार सिंह पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दामा फरार सिंह पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका त्रिलोक सिंहलाई कास्कीको शिशुवा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार डम्बर देउवा सहितको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी त्रिलोक सिंह लगायतको नाम रहेकोमा सिंह लामो समयदेखि फरार रहेका थिए ।

मुद्दामा खोजतलास भइरहेको बेला एनएएन मेरीटाइम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक त्रिलोक सिंह कास्कीको शिशुवा वडा क्षेत्रमा लुकी बसिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाको समन्वयमा प्रहरी टोलीले उनलाई फेला पारेको छ ।

प्रहरीले पोखरा महानगरपालिका–२७ डाँडाकोनाकबाट उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाएको छ ।

पक्राउ परेका २९ वर्षीय सिंहको स्थायी घर बझाङ जिल्लाको बंगल नगरपालिका–६ मा रहेको छ । उनको हालको ठेगाना काठमाण्डुको बूढानीलकण्ठ नगरपालिका–९ मा रहेको प्रहरीले जनाएको छ । सिंहले वैदेशिक रोजगारका नाममा ६६ जनाबाट जम्मा ४ करोड १७ लाख त्रियानब्बे हजार २८० रुपैयाँ ठगी गरेको अभियोग छ ।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार सिंह विरुद्धको मुद्दामा कानूनी प्रक्रिया अघि बढाइएको छ ।