प्रधानमन्त्री ओली र मोदीबीच बेइजिङमा ‘साइडलाइन’ बैठक हुने

प्रधानमन्त्री ओली र मोदीबीच बेइजिङमा ‘साइडलाइन’ बैठक हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा साइडलाइन बैठक हुने भएको छ ।

यसअघि दुवै नेताबीच न्युयोर्क र बैंककमा २ पटक भेटवार्ता भइसकेको थियो ।

अब तेस्रोपटक उनीहरूको भेटवार्ता बेइजिङमा हुने पक्का भएपछि नेपाल–भारत सम्बन्धलाई नयाँ गतिमा अघि बढाउने सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा अवधिमा भएको पहिलो भेटवार्तामा ओली र मोदीबीच आपसी सम्बन्ध, सहयोग र लोकतान्त्रिक अभ्यासबारे छलफल भएको थियो । त्यसपछि बैंककमा आयोजित बिम्स्टेक शिखर सम्मेलनको सन्दर्भमा भएको दोस्रो भेटमा दुवै नेताले ऊर्जा, कनेक्टिभिटी, संस्कृति र प्रविधि क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

दुवै भेटलाई मित्रतापूर्ण र फलदायी संवादको रूपमा लिइएको थियो । अब हुन लागेको बेइजिङ भेटलाई नेपाल–भारत सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

भेटमा दुवै मुलुकबीच राजनीतिक, आर्थिक, सांस्कृतिक र सुरक्षा सहयोगका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ । भारतका प्रधानमन्त्री मोदीले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिने नीति लिएका छन् भने प्रधानमन्त्री ओलीले पनि सबै छिमेकीसँग सन्तुलित र सकारात्मक सम्बन्ध विस्तार गर्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।

भारतसँगको सम्बन्ध सुधार हुँदै गएपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण समेत तय भएको छ ।