मधेशको राजनीति : पहिला फुट्ने अनि जुट्न ‘तम्सिने’

मधेशको राजनीति : पहिला फुट्ने अनि जुट्न ‘तम्सिने’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साउन २८ र २९ गते मधेशको राजनीतिमा महत्त्वपूर्ण घटनाको रूपमा दर्ज भएको छ ।

साउन २८ मा अशोक राई र राजेन्द्र महतोले कार्यगत एकताको घोषणा गरेका छन् भने साउन २९ गते अनिल झाले नेपाल सद्भावना पार्टीको पुनर्गठन गरेका छन् ।

यी तीनैजना नेताहरू विभिन्न समयमा पार्टी फुटाउँदै, बनाउँदै अहिले एकताको कुरा गरेका छन् ।

राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले बिहीबार कार्यगत एकताको घोषणा गरेको हो ।

यी दुई दलले भविष्यमा पार्टी एकताकै लागि अहिले ‘कार्यगत एकता’ गरेको बताएको हो । अब उनीहरूले प्रदेश, जिल्ला र गाउँ कमिटीबीच पनि एकता गराउँदै लाने छन् ।

यी दुवै समूह केही समयअघि आ–आफ्ना पूर्वदलबाट विभाजित भएर बनेका थिए ।

राई उपेन्द्र नेतृत्वको जसपा नेपालबाट फुटेर आएका हुन् । उनको पार्टी अहिले केपी ओली नेतृत्वको सरकारमा पनि सहभागि छ । यता महन्थ ठाकुर नेतृत्वको लोसपाबाट अलग भएर महतोले पार्टी बनाएका हुन् ।

सद्भावना पार्टी ब्युँत्याएका झा पनि विगतमा विभिन्न पार्टी भत्काउँदै, बनाउँदै अहिले पुरानै पार्टीलाई पुर्नगठित गरेका हुन् ।

झाले पुर्नगठन गरेको नेपाल सद्भावना पार्टीको वैधानिक हैसियत कायमै भए पनि लामो समयदेखि निष्क्रिय थियो । त्यसैले निर्वाचन आयोगले पनि सजिलै मान्यता पनि दियो ।

राइ–महतो रोचक सम्बन्ध

राई र महतो कुनै बेला एउटै दल जसपा–नेपालमा थिए । जसको नेतृत्व उपेन्द्र यादवले गरेका थिए । राई एमाले र साम्यवादी पृष्ठभूमिका हुन् भने महतो मधेशकेन्द्रित राजनीति गरेर उदाएका नेता हुन् ।

पहिलो संविधानसभामा पहिचान आधारित संघीयताको मुद्दामा विमति भएपछि एमाले परित्याग गर्दै राइले राजेन्द श्रेष्ठसँग मिलेर संघीय समाजवादी पार्टी बनाएका थिए ।

उपेन्द्र यादवबाट विभाजित भएपछि यो दल प्रचण्ड नेतृत्वको सरकारमा समेत सामेल भएको थियो र अहिले ओली सरकारमा पनि छ ।

कार्यगत एकताको घोषणा गरे पनि राइको दलले सरकार छोडेको छैन । सद्भावना धारबाट हुर्किएका महतो कांग्रेस पृष्ठभूमिका महन्थ ठाकुर र कम्युनिस्ट पृष्ठभूमिका उपेन्द्र यादव दुवैसँग रहेर राजनीति गरेका हुन् । महतो महन्थसँग तात्कालीन समयमा मधेशका विभिन्न ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)मा रहे ।

६ जना नेताहरूबाट चल्दै आएको राजपा र दुई जनाको अध्यक्षता रहेको समाजवादी पार्टी नेपालबीच २०७७ वैशाख १० मा एकता भयो । एकता पछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल रह्यो ।

यादवसँग मतभेद भएपछि २०७८ सालमा महन्थलाई शक्तिशाली बनाउँदै महतोको अग्रसरतामा जसपा नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भयो । यो पार्टी गठन हुँदा महतो प्रभावशाली देखिएका थिए ।

मधेश राजनीतिमा सधै केन्द्रमा रहेका महतो पटक पटक मन्त्री पनि भए । उनलाई मधेशलाई भजाएर राजनीति गरेको आरोप पनि लाग्ने गरेको छ ।

तर उनै महतोको ठाकुरसँग मनमुटाव भएपछि राजनीतिक चिन्तक बुद्धछिरिङ मोक्तानले संश्लेषण गरेको ‘स्वदेशवाद’ र ‘राष्ट्रिय मुक्ति क्रान्ति’को अवधारणा बोकेर हिँडे । गत वर्ष कात्तिक ९ गते उनले राष्ट्रिय मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता गराए ।

अहिले उनी मधेशको राजनीतिसँगै स्वदेशवाद र पहिचानको राजनीतिलाई अपनाएका छन् ।

अनिल झाको राणनीति

गजेन्द्र नारायण सिंहको नेपाल सद्भावना पार्टीबाटै राजनीतिक यात्रा थालेका अनिल झा पनि विभिन्न पार्टी बनाउँदै अहिले पुरानै पार्टीलाई पुर्नजिवित गरेका हुन् । उनी भन्छन् : ‘३६ वर्ष पुरानो पार्टीमा फर्केका छौं । पहिला पनि हाम्रो पार्टी यही थियो । लोसपामा अटाउन नसकेपछि पुरानै पार्टीमा फर्किएँ ।’

सद्भावना पार्टी विभाजनपछि झा राजेन्द्र महतोको नेतृत्वमा बनेको सद्भावना पार्टीमा गएका थिए । तर महतोसँग कुरा नमिलेपछि उनी त्यहाँबाट अलग भएर संघीय सद्भावना पाटी गठन गरे । पछि उनले विभिन्न ६ मधेश केन्द्रित पार्टीसँग एकता गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) बनाएका थिए ।

राजपा पनि फुटेपछि उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सामेल भए । अहिले उनी लोसपा छाडेर पुरानो पार्टीमा फर्केका हुन् । झा पनि पटक पटक मन्त्री बनेका नेता हुन् । रौतहटमा व्यवसाय पनि गरिरहेका झाले आफ्नो राजनीति कतै नचलेपनि अन्ततः पुरानो पार्टीको सहारा लिएका हुन् ।

मधेशको राजनीतिमा सधै केन्द्रमा रहेका महतो र झा आज कमजोर बनेपछि आफ्नो राजनीति जोगाउन एकताको सपना बुनिरहेको टिप्पणी पनि गरिएको छ ।

कम्युनिष्ट घटकजस्तै पहिचानवादी तथा मधेश केन्द्रित दलहरू जुट्न र फुट्न माहिर छन् । यी दल कतिखेर कोसँग मिल्छन् र फुट्छन्, कुनै टुंगो हुँदैन । त्यसैले महतो र झाले अहिले लिएको बाटो कहाँसम्म पुग्ने हाे हेर्न बाँकी छ ।