कञ्चनपुर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताएका छन् ।
आईतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९औं जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्याउने पार्टी नेकपा एमाले भएको बताए ।
अरूले के गर्दछ भन्दा पनि एमाले के गर्दछ भन्ने कुरा देशको लोकतन्त्रको लागि मानक बन्ने उनले स्पष्ट पारे । त्यसैले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने विषयमा एमालेले यो सबै सोचविचार गरेर निर्णय गरेको उनको भनाइ छ ।
सभामुख र राष्ट्रपति राजनीतिमा आउने विषय फरक भएको उनले बताए । राष्ट्रपति निर्वाचित भएपछि प्रतिनिधि सभाको सदस्यबाट नै राजीनामा दिनुपर्ने तर सभामुख प्रतिनिधि सभाको सदस्य हुने कुराले यी २ बिचको फरक छुट्याउन सकिने उनको धारणा छ । ‘अरू सम्माननीयको भूमिका भन्दा राष्ट्रपति र उपराष्ट्रपति भूमिका फरक हुन्छ,’ उनले भने ।
पार्टीभित्र हुर्किंदै गएको अवसरवाद पार्टीको लागि घातक भएको उनले बताए । एमालेले मिसन २०८४ घोषणा गरेको बताउँदै उनले त्यसलाई सफल गराउन अवसरवादलाई परास्त गर्न सक्नुपर्ने बताए । ‘मिसन २०८४ लाई सफल गराउने हो भने पार्टीभित्र रहेको अवसरवादलाई जित्न सक्नुपर्छ,’ उनले भने ।
कुनै पनि पार्टीलाई बलियो बनाउन अनुशासन र एकता बलियो बनाउनुपर्ने उनले बताए । ‘अनुशासन र एकताको अभावमा कुनै पनि पार्टी बलियो बन्न सक्दैन भन्ने कुरा हामीले बुझ्नुपर्छ, अवसरवाद र अराजकता पार्टी निर्माणका समस्या हुन्,’ उनले भने ।
वैचारिक र राजनीतिक काममा नलाग्दा अवसरवाद मौलाउने उनले बताए । पोखरेलले मैले जे बुझेको छु त्यो नै सत्य हो भन्ने भावको विकास हुँदा अवसरवाद जन्मिने बताए । ‘अवसरवादले मानिसलाई गलत बाटोतर्फ डोर्याउँछ,’ उनले भने ।
पार्टी सबैभन्दा बढी एकताबद्ध चुनावको बेलामा हुनुपर्ने बताउँदै उनले पार्टीमा चुनावको बेलमा धोका दिने प्रवृत्ति मौलाएको बताए । ‘अघि पछि एमाले भइरहने, चुनावको बेला एमाले छाड्ने नेता–कार्यकर्ता चाहिँदैन,’ उनले भने ।
भीम रावललाई पार्टीमा राख्न धेरै प्रयत्न भएको बताउँदै उनलाई उपाध्यक्ष बनाउने कुरामा सर्वसम्मति जुटेको भए पनि अध्यक्षमा चुनाव लडेर हारेपछि पार्टी र नेतृत्वविरुद्ध अनेक खालका आक्षेप लगाउँदै हिँडेका पोखरेलले बताए । पार्टीसँग व्यक्ति टकराउने कुरा मान्य नहुने उनले स्पष्ट पारे । ‘अराजकता कहिल्यै पनि पार्टीको हितमा हुँदैन,’ पोखरेलले भने ।
उनले पार्टी भनेको सामूहिकताको उपज भएको बताए । आफूलाई जे मन लाग्यो त्यही गर्ने कुरा पार्टीमा सम्भव नभएको पोखरेलको भनाइ छ ।
सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेका भरमा पनि पार्टी र देश चलाउन नसकिने उनले बताए । आज सामाजिक सञ्जालबाट लोकप्रिय हुन चाहनेहरू एमालेको संगठन देखेर जलेका र एमालेविरुद्ध कुप्रचारमा लागेका उनको भनाइ छ ।
रास्वपाले जे–जे माग्छ, एमालेले त्यहीँ त्यहीँ दिँदै गएको उनले बताए । तर उनीहरूका एकपछि अर्काे अपराध सार्वजनिक हुँदै गएपछि र मुद्दा अघि बढेपछि रास्वपाका नेताहरू प्रतिशोध साँधियो भन्दै हिँडेका पोखरेलको भनाइ छ । जान्नेलाई छान्नुपर्छ भन्नेहरू नेपालको कानूनमा एकै व्यक्तिले एकभन्दा बढी विवाह गर्नु हुँदैन भन्ने नजान्ने, एउटा व्यक्तिले २ देशको नागरिकता बनाउनु हुन्न भन्ने पनि नजान्ने, सहकारी ठगी गर्नु हुँदैन भन्ने नजान्ने कस्तो खालका जान्ने हुन् भन्दै उनले प्रश्न गरे ।




प्रतिक्रिया