काठमाण्डु – नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालका प्रमुख सहायकरथी भुवन कुवँरलाई जगेडामा पठाइएको छ । ४ महिनाअघि सहायकरथी भरत भण्डारीलाई हटाएर अस्पतालको प्रमुख बनाइएका कुवँरलाई प्रधानसेनापति अशोक सिग्देलको आदेशमा सैनिक सचिवको अफिसको जगेडा दरबन्दीमा राखिएको हो ।
‘सामान्यतया अस्पतालबाट हटाइएपछि डिजिएमएसमा सरुवा हुनुपर्ने हो । तर, उहाँलाई जगेडामा पठाइएको छ । त्यसैले पनि उहाँमाथि छानविन हुने सम्भावना छ ।’ सैनिक स्रोतले भन्यो ।
उनलाई कुनै जिम्मेवारी नदिइएको सैनिक स्रोतले जानकारी दिएको छ । कुवँरमाथि सेनाको अस्पतालमा ठेक्कापट्टा गर्ने बावुराम कोइरालालगायतका व्यवसायीसँगको सम्बन्धलाई लिएर छानविन हुने सम्भावना छ ।
कोइरालाको सेनाको अस्पतालमा लामो समयदेखि एकलौटी सिण्डिकेट छ । उनले प्रधानसेनापतिका निकट नातेदारसँग मिलेर ठेक्कापट्टा गर्दै आएको स्रोतको दावी छ । अस्पतालमा भद्रगोल भएपछि प्रधानसेनापति अशोक सिग्देलको आदेशमा उनको आइतबार सरुवा भएको हो ।
अस्पतालको प्रमुखको जिम्मेवारी सहायकरथी डा.नम्रता रावल महरालाई दिइएको छ । उनि यसअघि रजिष्ट्रारको रुपमा अस्पतालमै कार्यरत थिईन । सेनामा पछिल्लो समय प्रधासेनापति सिग्देलका सम्धीं यादव कुवँर, सुदीप रेग्मीलगायत व्यापारीको बोलवाला छ ।




प्रतिक्रिया