काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभिन्न तहमा बढुवा भएका अधिकृतहरूलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक पदमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा १ जना, सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा ४८ जना र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा १ जना तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा भएका प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
महानिरीक्षक अर्यालले संगठनमा सेवारत रहँदा पदोन्नतिको विशेष महत्व हुने र पदोन्नतिसँगै प्राप्त जिम्मेवारी, सकारात्मक, सोच, दृष्टिकोण र कार्यशैलीका साथ कार्यक्षेत्रमा संगठनप्रति निष्ठावान हुँदै कार्यसम्पादन गर्न निर्देशन दिए ।
उनले राष्ट्र र संगठनका लक्ष्य हासिल गर्न सशस्त्र प्रहरी अधिकृतहरूको दक्षता र जिम्मेवारी बहन गर्ने क्षमताले महत्वपूर्ण योगदान पुर्याउने बताउँदै आ–आफ्नो पदीय जिम्मेवारीमा उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ नागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ भई लाग्न समेत निर्देशन दिए ।
साउन २८ गतेको गृहमन्त्रीस्तरको निर्णयले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, गृह सचिवस्तरको साउन २९ गतेको निर्णयले सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक र गृह सचिवस्तरको भदौ १ गतेको निर्णयले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरूको उपस्थिति थियो ।




प्रतिक्रिया