काठमाण्डु– नेपाली कांग्रेसले आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ ।
मंगलबार सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईएको काङ्ग्रेस सांसद सीता मिजारले जानकारी दिएकी छन् ।
उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन् ।
अहिले सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा कांग्रेसको पदाधिकारीको बैठक जारी छ ।
सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने गरि बोलाइएको छ । उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।
उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।
यता एमालेले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ ।
जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना पठाइएको छ ।




प्रतिक्रिया