काठमाण्डु– सत्ता गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेकी छन् ।
गत असार २२ गते नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सहभागी हुन अध्यक्ष श्रेष्ठ पनि पुगेकी हुन् ।
बैठकमा कांग्रेस, एमाले, जनमत, जसपा र लोसपाका नेताहरूलाई पनि बोलाइएको छ । बैठकमा सहभागी हुन जनमतकी सांसद अनिता देवी पनि पुगेकी छन् ।
यता कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्न हस्ताक्षर चलाइरहेका छन् । सत्तापक्षका सबै दलको सहमति जुटाएर उपसभामुखलाई पदमुक्त गर्न प्रस्ताव दर्ता गर्ने तयारी रहेको छ ।
उपसभामुख हटाउनका लागि संसद्को दुई तिहाइ बहुमत अर्थात् १८४ मत आवश्यक पर्छ ।
हाल प्रतिनिधिसभामा कांग्रेसका ८८ र सभामुखसहित एमालेका ७८ सांसद् छन्। कांग्रेस र एमालेलाई उपसभामुख हटाउन थप १७ जना सांसदको समर्थन आवश्यक पर्छ।
यस्तै जनता समाजवादीको ७, जनमत पार्टीको ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को ४ सिट रहेको छ । सत्ता गठबन्धनसँग अहिले कांग्रेसको ८७, एमालेको ७७, जसपाको ७, जनमतको ६ र लोसपाको ४ गरी जम्मा १८१ सङ्ख्या पुग्छ ।
तर एमालेका सांसद टोपबहादुर रायमाझी र कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बनमा परेकाले उनिहरुले मत दिन पाउँदैनन् ।
उपसभामुखलाई हटाउन नाउपा, जसपा नेपाल वा अन्य विपक्षी दलका ३ जना सांसदले समर्थन गर्न पर्ने हुन्छ । त्यसकालागि विपक्षी दलका सांसदलाई मनाउन सत्तारुढ दल लागिपरेका छन् ।
यस्तैमा नेकपा एकीकृत समाजवादीले उपसभामुखबाट रानालाई हटाउन खोजे त्यसको विरोध गर्ने बताइसकेको छ ।




प्रतिक्रिया