काठमाण्डु – कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
२०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले स्थापना दिवस तथा सहित दिवसको अवसरमा कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको का प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।
दिवसको अवसरमा प्रदेश सरकारले बिहान प्रभातफेरि कार्यक्रम गरेको छ भने बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रुपमा मनाउने छ ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले २०७२ सालको साउन २३ गते प्रदेश सिमाङ्कनमा देशभर छ वटा प्रदेश रहने निर्णय गरेको थियो ।
तर लगत्तै साउन २४ देखि सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पासमेत १० जिल्लाले छुट्टै प्रदेशको माग गरेर आन्दोलन गरेका थिए । १२ दिनसम्मको आन्दोलनमा चार जनाले ज्यान गुमाए ।
२०७२ सालको भदौ ४ मा तत्कालीन सरकारले साविकको भेरी अञ्चलका तीन, कर्णाली अञ्चलका पाँच र राप्ती अञ्चलका दुई समेत १० जिल्लाको ६ नम्बर प्रदेश र साविकको सेती तथा महाकाली अञ्चलका नौ जिल्लालाई सात वटा प्रदेश रहने निर्णय गरेको थियो ।
६ नम्बर प्रदेशले आफ्नो नाम कर्णाली प्रदेश राखेको थियो । आन्दोलनबाट पाएकोले यसलाई कान्छो प्रदेश पनि भनिन्छ ।
अहिलेको कर्णाली प्रदेश स्थापनाको आन्दोलनमा सुर्खेतका यामबहादुर बी।सी।, गोपालसिंह रजवार, टिकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाउनुभएको थियो । सरकारले उनीहरूलाई सहिद घोषणा गरेको छ ।




प्रतिक्रिया