काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले उपसभामुखको पदप्रति देखाइएको व्यवहार लोकतन्त्रका लागि गम्भीर खतरा भएको भन्दै कडा आपत्ति जनाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परियारले लोकतन्त्रको नाममा राजनीति गर्ने दलहरुलाई ऐतिहासिक नेताहरूको सम्झना गराउँदै सचेत रहन आग्रह गरे।
उनले भने, “लोकतन्त्रको विरासत बोकेका भनी दाबी गर्नेहरूले सम्मानित सदन, सार्वभौम सदनको उपसभामुखजस्तो जिम्मेवार पदलाई जुन तहमा अवमूल्यन गरेका छन्, त्यो लोकतन्त्रकै लागि ठूलो खतरा हो भन्ने हाम्रो पार्टीको ठम्याइ छ।”
परियारले नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुलाई क्रमशः वीपी कोइराला र मदन भण्डारीको योगदान सम्झन आग्रह गरे। कांग्रेस नेताहरूलाई उद्देश्यमाथि उनले भने, “लोकतन्त्र बचाउन हार मान्न तयार हुने वीपीलाई सम्झनुहोस्।” एमाले नेताहरूलाई भने, “सामन्तवादविरुद्ध आवाज उठाउने कमरेड मदन भण्डारीलाई सम्झनुहोस्। पार्टीभित्र हावी हुने सामन्तवादले पनि हामीलाई उभो लाग्न दिँदैन भन्ने चेत राख्नुहोस्।”
सांसद परियारले रास्वपाबाट निर्वाचित एक जना जनजाति महिला उपसभामुखको पदप्रति गरिएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै त्यस पदलाई गरिनुपर्ने सम्मानको आवश्यकता औंल्याए।
उनले भने, “रास्वपाले उहाँको अन्तर्राष्ट्रिय स्तरमा प्राप्त मान–सम्मानलाई समेत ध्यानमा राखी उपसभामुखलाई सम्मान गरेको छ। त्यसमा तपाईंहरू जति उफ्रिए पनि माथि पुग्न सक्नुहुन्न। संसद आफैंमा सार्वभौम हो। सांसदको विवेकलाई बन्दी नबनाऔं। जुन बेला मन लाग्यो राजनीतिक स्वार्थ पूर्ति गर्न संसदलाई माध्यम नबनाऔं।”
सांसद परियारले रास्वपालाई निषेध गर्न खोजिएको आरोप पनि लगाए। उनले भने, “नयाँलाई निषेध गर्न सकिँदैन। हामी जनताबाट आएका हौं। निषेधले लोकतन्त्र बलियो हुँदैन।”




प्रतिक्रिया