संसदमै पुग्यो नागरिक उन्मुक्तिको विवाद, अध्यक्ष रञ्जिताको पत्रले सभामुख घिमिरेलाई अन्योल

संसदमै पुग्यो नागरिक उन्मुक्तिको विवाद, अध्यक्ष रञ्जिताको पत्रले सभामुख घिमिरेलाई अन्योल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) आन्तरिक विवाद संसद्मा पुगेको छ ।

नाउपा संरक्षक रेशम चौधरी पक्षले अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउन गरेको प्रयास विफल भएपछि अध्यक्ष श्रेष्ठले पार्टीलाई पुरानै ढंगले चलाउन सुरु गरेकी छन् । उनले नाउपालाई संसद्मा सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन सभामुख देवराज घिमिरेलाई पत्राचार गरेकी छन् ।

यसअघि रेशम चौधरी पक्षीय सांसद तथा संसदीय दलका नेता गंगाराम चौधरीले असार २२ गते सभामुखलाई पत्र लेख्दै प्रतिपक्षमा बस्ने जानकारी दिएका थिए । रेशम पक्षको प्रभावमा नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर रञ्जिताले पुन: नाउपालाई सत्तापक्षीय दलको रूपमा प्रस्तुत गर्न थालेकी छन् ।

बुधबारको कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले अध्यक्ष श्रेष्ठबाट पत्र आएको जानकारी गराउँदै कता बस्ने हो यकिन गर्न दल नेता गंगारामलाई आग्रह गरेका छन् ।

पार्टी अध्यक्षको एउटा र संसदीय दलका नेताको अर्कै पत्र आएपछि सभामुख घिमिरेलाई अन्योल भएको छ । स्रोतका अनुसार बैठकमा सभामुख घिमिरेले भनेका छन्, ‘सत्तापक्षमा सिट व्यवस्थापनका लागि पत्र आएको छ, कता बस्ने हो ? निर्क्यौल गर्नुस् ।’

यसअघि मंगलबार अध्यक्ष श्रेष्ठ कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सत्तापक्षीय दलहरूको बैठकमा पनि सहभागी भएकी थिइन् । यसअघि अध्यक्ष श्रेष्ठले संसदीय दलका नेता गंगारामलाई कारवाही गरिएको पत्र पठाएकी छन् ।