काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवा नेता राजु गैरेले आगामी १० गतेबाट अनशन बस्ने घोषणा गरेका छन् ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतले आफूमाथि हातपात गरेको भिडियो सार्वजनिक हुँदा पनि पार्टी र प्रहरीको तर्फबाट कुनै चासो नभएको भन्दै खडायतविरुद्ध कानूनी कारबाही नभएको खण्डमा आगामी भदौ १० गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बस्ने घोषणा गरे ।
उनले भने, ‘म आगामी १० गतेबाट अनशन बस्ने घोषणा पनि गर्न चाहन्छु । मैले न्याय पाइनँ भने पार्टीको अनुशासन कायम गराउनका लागि, गल्ती गर्नेहरू कानूनको दायरामा आउनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि म अनशन बस्दैछु ।’
खडायतले गत साउन १४ गते गैरेमाथि हातपात गरेको भिडिओ फुटेज सार्वजनिक भएको थियो । प्राप्त भिडिओ फुटेजमा खडायतले गैरेलाई हेल्मेटले प्रहार गरेका थिए ।
घटनाबारे प्रहरीले पनि किटानी जाहेरी नै लिन नमानेको उनको गुनासो छ । उनले भने, ‘प्रहरीले किटानी जाहेरी लिन मिल्दैन पनि भनेको छैन । आईतबार आउनुस्, सोमबार आउनुस् भन्नुभयो । प्रहरी प्रशासनले मलाई मुसो खेलाए जसरी खेलाइरहेको छ । नियोजित तरिकाले मान्छे मार्ने उद्देश्यले भएको घटनालाई म सहमति गर्ने पक्षमा छैन । यो मेरो स्वयं विषय होइन, पार्टीभित्र आवद्ध भएका लाखौं कार्यकर्ताको विषय हो ।’




प्रतिक्रिया