काठमाण्डु– बर्खायाम सुरु भएदेखि नेपालमा डेंगी संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगी संक्रमण पुष्टि भएको छ र दुई जनाको मृत्यु भएको छ ।
डेंगी ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १९८ नयाँ संक्रमित थपिएका छन् ।
तथ्यांकअनुसार बागमती प्रदेशमा ३०३, कोशीमा ४७, गण्डकीमा २९, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगीका बिरामी भेटिएका थिए । त्यसयता हरेक वर्ष डेंगी संक्रमण देखिँदै आएको छ ।
के हो त डेंगी ?
–डेंगी एक भाइरल रोग हो, जुन डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टे (विशेषगरी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस) को टोकाइबाट सर्छ ।
–एडिज लामखुट्टेले डेंगीसँगै चिकुनगुनिया, जिका र पहेँलो ज्वरोजस्ता अन्य भाइरल रोग पनि सार्छ ।
–डेंगी रोग मानिससँग बस्दा, कुरा गर्दा वा सुत्दा एक व्यक्तिबाट अर्कोमा सर्दैन । यो केवल संक्रमित एडिज लामखुट्टेको पोथीले टोकेको अवस्थामा मात्र सर्छ ।
–अधिकांश अवस्थामा डेंगीमा सामान्य लक्षण देखिन्छन् । तर करिब ५ प्रतिशत संक्रमितमा जटिल लक्षण देखापर्न सक्छन्, जसको समयमै पहिचान र उपचार नगरेमा ज्यानसम्म जोखिममा पर्न सक्छ ।
–डेंगी भाइरसका चारवटा स्वरूप (सेरोटाइप) हुन्छन् । एउटाबाट संक्रमित भएपछि शरीरले जीवनभर उक्त सेरोटाइप विरुद्ध प्रतिरक्षा विकास गर्छ तर अन्य सेरोटाइपको संक्रमण भयो भने गम्भीर डेंगी हुने सम्भावना बढ्छ ।
–डेंगी रोग नेपालजस्ता तातो र आर्द्र जलवायु भएको क्षेत्रमा बढी देखिन्छ । विशेषगरी मनसुन तथा त्यसपछिको अवधिमा यसको संक्रमण दर उल्लेखनीय रूपमा बढ्छ ।
डेंगी सार्ने लामखुट्टे कस्तो हुन्छ ?
–सानो आकारको, कालो रङको हुन्छ, खुट्टामा सेता धर्सा हुन्छन् ।
–शरीरको माथिल्लो भागमा वीणा (lyre) जस्तो सेतो ढाँचा हुन्छ, जुन यस जातको विशेष चिनारी हो ।
–सामान्य लामखुट्टेभन्दा छरितो र छिटो उड्ने हुन्छ ।
लामखुट्टेको आनीबानी
–जमेको सफा पानीमा अण्डा पार्छ । केवल ५ मिलिलिटर (बोतलको ढक्कन बराबर) पानी पनि प्रजननका लागि पर्याप्त हुन्छ ।
–साना–ठूला सबै प्रकारका भाँडा वा ट्यांकीमा वृद्धि हुन सक्छ ।
–अण्डा सुक्खा अवस्थामा पनि महिनौंसम्म जीवित रहन्छन् र पानी पाउनासाथ जीवनचक्र पुनः सुरु हुन्छ ।
–दिनको समयमा सक्रिय हुन्छन्, विशेषगरी बिहान र बेलुका बढी टोक्छन् ।
–टोक्दा कम दुख्छ र आवाज पनि कम गर्ने भएकाले सजिलै थाहा पाइँदैन ।
–एउटै व्यक्तिलाई पटक–पटक वा वरपरका धेरै व्यक्तिलाई पनि टोक्न सक्छन् ।
–औसत आयु करिब ३० दिनको हुन्छ । अण्डाबाट वयस्क बन्न सामान्यतया ७–१० दिन लाग्छ ।
प्रजननका स्थान
–पानी जम्न सक्ने जुनसुकै भाँडो (ट्यांकी, ड्रम, गाग्री, बोतल, क्यान, टायर, फूलदानी आदि)
–फ्रिज वा कूलरको ट्रे
–जनावरका लागि राखिने पानीका भाँडो
–घरभित्र वा वरपर खुला पाइप, चुहिने ट्यांकी वा सजावटी पानीका घडा
(फोहोर पानी भएका नाली वा ढलमा भने एडिज लामखुट्टे प्रजनन गर्दैनन्, तर त्यस्ता स्थान औलो वा हात्तीपाइले सार्ने लामखुट्टेका लागि उपयुक्त हुन्छन् ।)
डेंगीका लक्षण
–अचानक उच्च ज्वरो आउनु (५–६ दिनसम्म रहन सक्छ)
–आँखाको गेडी, ढाड, जोर्नी र मांसपेशी दुख्नु
–वाकवाकी लाग्नु वा बान्ता हुनु
–शरीरमा रातो बिमिरा देखिनु (ज्वरो आएको ३–५ दिनपछि)
(यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानु र परीक्षण गर्नु आवश्यक छ ।)
डेंगी पुष्टि गर्ने परीक्षण
–द्रुत परीक्षण किट (सबैभन्दा प्रचलित, छिटो र सुलभ)
–रगतको प्रयोगशाला परीक्षण
(परीक्षण बिरामीको उपचारमा भन्दा पनि रोगको प्रारम्भिक निगरानी र रोकथाममा महत्त्वपूर्ण हुन्छ ।)
जोखिममा हुने समूह
–शिशु (१ वर्ष मुनिका)
–गर्भवती महिला
–वृद्ध व्यक्तिहरू
–मोटोपन भएका व्यक्ति
–मधुमेह, मुटु वा मिर्गौला रोग भएका व्यक्ति
–रक्त सम्बन्धी समस्या भएका व्यक्ति
घरमै गर्न सकिने स्याहार
–ज्वरो र पीडा कम गर्न प्यारासिटामोल लिन सकिन्छ । (ब्रुफिन वा एस्प्रिनजस्ता औषधि स्वास्थ्यकर्मीको सल्लाह बिना लिनु हुँदैन ।)
–प्रशस्त आराम गर्ने ।
–प्रशस्त पानी पिउने, सूप, जुस, ओ.आर.एस. आदि झोलिलो पदार्थ सेवन गर्ने ।
–एन्टिबायोटिक डेंगीमा प्रभावकारी हुँदैन । (ब्याक्टेरियाको शंका भए मात्र चिकित्सकले प्रयोग गर्न सक्छन् ।)
खतराका चिन्हहरू
–खतराका चिन्हहरू ज्वरो घटेको २४ देखि ४८ घण्टा पछाडि देखिनेगर्छ । यस्ता लक्षणहरू गम्भीर डेंगीका संकेत हुन सक्छन्
–नाक वा गिजाबाट रगत बग्नु
–बारम्बार बान्ता हुनु, बान्तामा रगत देखिनु ( १ घण्टामा ३ पटक सम्म बान्ता हुनु)
–पेटमा अत्यधिक पीडा हुनु, पेट छुदा दुख्नु
–सास फेर्न गाह्रो हुनु, वा छिटो छिटो सास फेर्नु
–अत्याधिक थकान र छटपटी हुनु
(बिरामी अचेत पनि हुन सक्छ, पेट र छातीमा पानी जम्न सक्छ, सास फेर्न गाह्रो हुने स्थिति आउन सक्छ, उच्च रक्तश्राव हुन सक्छ, र भित्री अंगहरूमा गम्भीर क्षति पुग्न सक्छ ।)
रोकथाम
–लामो बाहुला भएका कपडा लगाउने ।
–शरीरमा रिपेलेन्ट मलम/स्प्रे प्रयोग गर्ने ।
–ढोका–झ्यालमा सानो जाली प्रयोग गर्ने ।
–सुत्दा झुल प्रयोग गर्ने ।
–विशेषगरी शिशु, वृद्ध तथा गर्भवती महिलाहरूलाई लामखुट्टेको टोकाईबाट सुरक्षित राख्न विशेष ध्यान दिने ।
–हरेक ७ दिनमा पानी जम्ने भाँडो खाली गर्ने वा सफा गर्ने ।
–घर–वरपर फालिएका टायर, बोतल, क्यान आदि हटाउने ।
यस्तै लामखुट्टेको जीवनचक्रको अधिकांश समय पानीमै बित्छ । त्यसैले पानी जम्मा हुने सबै ठाउँहरू हटाउन सकेमा लामखुट्टेको वृद्धि र प्रजननलाई प्रभावकारी रूपमा रोक्न सकिन्छ ।
लामखुट्टेको अण्डा ७ देखि १० दिन भित्रै वयस्क बन्न सक्छ । त्यसैले पानी जम्मा हुने भाँडाहरू कम्तिमा हरेक ७ दिनमा खाली गर्ने, राम्ररी सफा गर्ने वा पानी परिवर्तन गर्नु आवश्यक हुन्छ ।
मनसुन तथा मनसुनपछिको समयमा घर वा टोलमा डेंगीका लक्षण नभएका संक्रमित व्यक्तिहरू पनि हुनसक्छन् त्यसैले बेलैमा सतर्कता अपनाई, रोकथामका उपायहरू नियमित रूपमा पालना गर्नु आवश्यक छ। – ईडीसीडीको सहयोगमा




प्रतिक्रिया