काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पूरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन् ।
नेकपा एमाले मधेश प्रदेशले विधान संशोधनका लागि बर्दिबासमा आयोजना गरेको सुझाव संकलन बैठकमा बोल्दै महासचिव पोखरेलले विधान महाधिवेशनमा विधान संशोधनका लागि केन्द्रको प्रस्ताव तलसम्म पठाइसकिएकाले त्यसमा आवश्यक सुझाव दिन आग्रह गरे ।
पार्टीमा उमेर हद, कार्यकाल र पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किने कि नफर्किने भन्ने विषय पार्टीले टुंग्याइसकेकाले अब त्यसमा बहस आवश्यक नरहेको उनले बताए ।
अब नेकपा एमालेको राष्ट्रिय गन्तव्य समृद्ध नेपाल सुखी नेपाली भएको उनले बताए । ‘अब यो पार्टीका आकांक्षा मात्र होइन, लक्ष्य बन्नुपर्छ,’ उनले भने ।
मुख्य नेतृत्वको वरिपरि सबै केन्द्रित रहनुपर्ने बताउँदै उनले बहुपदीयको अर्थ बहुगुट हुनु नभएको उनले बताए । पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधीनस्थताले पार्टीलाई बलियो बनाउने उनले बताए । पार्टीलाई सबल बनाउने हो भने सिङ्गो पार्टी नेतृत्वको वरिपरि हुनुपर्छ,’ उनले भने ।
पार्टीलाई बहुसंख्यक जनतामाझ पुर्याउन पार्टीमा २ खालका सदस्यताको प्रस्ताव ल्याइएको उनले बताए । ‘चुनावका बेलामा काम नलाग्ने नेता–कार्यकर्ताको कुनै अर्थ छैन, अघिपछि एमाले हुने, चुनावको बेलामा कता भोट हाल्छ भन्ने ठेगान नहुने नेता–कार्यकर्ताको के अर्थ ?’ उनले भने ।
राजनीतिक संघर्षको केन्द्रीय थलो निर्वाचन भएको बताउँदै उनले अब चुनावमा काम लाग्ने नेता–कार्यकर्ता र पार्टी बनाउनुपर्नेमा जोड दिए । त्यसकै लागि एमालेले पार्टी सदस्य र संगठित सदस्यको अवधारणा ल्याएको पोखरेलले बताए ।
अहिले पार्टी र पार्टी नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको उनले बताए । पार्टीभित्रबाट नभएर पार्टी बाहिरकाले पार्टीको विरोध गरिरहेका उनले बताए । ‘एमालेको सबैभन्दा चर्को विरोध नेकपा एमाले देशभक्त भएको मन नपराउनेले गरिरहेका छन्,’ उनले भने ।
मधेश बनाउनका लागि मधेश प्रदेश र मधेशका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यक रहेको उनले बताए । ‘केन्द्र सरकार र प्रदेश सरकारले मात्र पुग्दैन, तपाईंहरू सबै नेता जुटे चुनाव जितिन्छ, जुटे जितिन्छ, फुटे हारिन्छ,’ उनले भने ।
पार्टीको महाधिवेशनमा पार्टीलाई कसरी निर्णायक शक्ति बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिने उनले बताए । मिसन २०८४ लाई केन्द्रित गरी पार्टीको अभियान अघि बढ्ने पोखरेलले बताए ।
लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको उनले बताए । राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने पोखरेलले बताए । लोकप्रियताका माध्यमबाट चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति ठगीमा संलग्न भएकै कारण जेलमा पुगेको पोखरेलको भनाइ छ । ‘६ वटा सहकारीबाट पैसा लिएर दुरुपयोग गरेको प्रमाण फेला परेपछि रास्वपा अध्यक्ष रवि लामिछाने अहिले जेलमा रहेका छन्,’ उनले भने, ‘रवि आफ्नै कर्मका कारणले थुनामा छन् ।’
अहिले मुलुकमा शान्ति, समृद्धि, स्थिरता र सुशासनको लागि एमालेले सरकारको नेतृत्व गरेको उनले बताए । आफ्नो स्वार्थका लागि समाजलाई उत्तेजित बनाउने काम नगर्न पनि पोखरेलले आग्रह गरेका छन् ।




प्रतिक्रिया