काठमाण्डु – पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ ।
नेपाल र चीन जोड्ने राजमार्गको अन्तर्राष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको थियो ।
पहिरोको माथिल्लो भागमा स्थानीयको बस्ती रहेको र पहिरोको कारण बस्ती समेत जोखिममा रहेको हुँदा कठिनाइ भएको थियो । सडक डिभिजन चरीकोटबाट खटिएको यन्त्र, उपकरण सहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो । सो स्थानमा नयाँ डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम समेत भइरहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।
पहाडी धरातल र लेदो बगिरहने गरेका कारण स्थानमा समय–समयमा समस्या आउने गरेको छ । ग्याबिन पर्खाल लगायतका अन्य संरचनाहरूको निर्माण गरी सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशील रहेको जैसीले बताए । सो स्थानको पहिरो नियन्त्रणको दीगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन समेत जारी राखेको सडक विभागले जनाएको छ ।
पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारीसाधन सञ्चालन गरिएको र बिहीबार अपराह्नदेखि ठूला सवारीसाधनहरू समेत सञ्चालन हुन थालेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डुका प्रमुख शुभराज न्यौपानले जानकारी दिए । यातायात सहज रूपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरू अझै कार्यक्षेत्रमा नै परिचालित रहेको उनले बताए ।
केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजमार्गमा गइरहने पहिरो नियन्त्रणका लागि दीगो विकल्प खोज्न सडक विभागलाई निर्देशन दिए । दीर्घकालीन समाधानका लागि केही समय लाग्ने भए पनि चाडपर्वहरू नजिकिँदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिने गरी प्राविधिक तथा जनशक्ति परिचालन गर्न मन्त्री दाहालको निर्देशन थियो ।




प्रतिक्रिया