साफ च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो

साफ च्याम्पियनसिप : नेपालले भुटानलाई हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित निकालेको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

यस जितसँगै दुई खेल खेलेको नेपालले तीन अङ्क जोडेको छ । पहिलो खेलमा भारतसँग नेपाल ७–० ले पराजित भएको थियो ।

यता भुटानको भने यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो ।

आज खेलको पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले खेलको ५८औँ मिनेटमा बराबरी गोल फर्कायो । नेपालको लागि साहरा लिम्बूले गोल गरिन् ।

त्यसअघि खेलको ४२औँ मिनेटमा भुटानका लागि कुन्डेन सोनाम शेगेलले गोल गरेकी थिइन् ।

खेलको ७७औँ मिनेटमा साहराले नै गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः नेपाल विजयी भयो ।