काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देल थाइल्यान्डमा आयोजना हुने इन्डो–प्यासिफिक चिफ अफ डिफेन्स सम्मेलनमा सहभागी हुन जाने भएका छन् ।
नेपाली सेनाअनुसार सिग्देल आगामी भदौ ९ गते सोमबार थाइल्यान्ड प्रस्थान गर्नेछन् । सम्मेलन भदौ १०–१२ गतेसम्म (२६–२८ अगस्ट) थाइल्यान्डको हुआ हिनमा अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्ड/रोयल थाई आर्मड फोर्सको सहकार्यमा आयोजना हुँदैछ ।
विक्रम संवत् २०५६ सालदेखि वार्षिक रूपमा हुँदै आएको सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । यसपटक पनि सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयमा छलफल र अन्तरक्रिया हुनेछ ।
नेपाली सेनाको सहभागिताले आन्तरिक सुरक्षा क्षमतामा वृद्धि गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको छ ।
थाइल्यान्ड प्रस्थान गर्नुअघि शनिबार प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
उनको अनुपस्थितिमा बलाधिकृत रथी निर्मल कुमार थापाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।




प्रतिक्रिया