सुर्खेत – प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले ईलाका प्रहरी कार्यायल छिन्चु परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन, महिला आवास र भान्सा घरको उद्घाटन गरेका छन् ।
उनले नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षरोपण समेत गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावलाई प्रशंसापत्र प्रदान गरे ।
प्रहरी महानिरीक्षक थापाले नवनिर्मित भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरूद्ध हुने हिंसा, घरेलु हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताए । नयाँ भवन केवल संरचना मात्र नभई प्रहरी र नागरिक बीचको विश्वासको प्रतिक भएको एवम् नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न समेत टेवा पुर्याउने विश्वास उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न एवम् घटित अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उल्लेख गर्दै समाजमा देखापरेका विकृति एवम् विसङ्गति नियन्त्रण गर्न तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नागरिकसँग समन्वय, सहकार्य एवम् हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव डा. पुष्प राज शाही, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जगदिश्वर उपाध्याय, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकाल र सेक्युरिटी एण्ड जस्टिस प्रोग्राम (एसजेपी) का सुनियर प्रोजेक्ट म्यानेजर सिमोन पेटर ओब्रिनले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा यूएनओपीएसका अपरेसन कोअर्डिनेटर एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा यूएनओपीएसका सिनियर इन्जिनीयर शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । यूएनओपीएसको सहयोगमा कुल ३ करोड ३५ लाख २७ हजार ५२५ रूपैयाँ ९ पैसाको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, सञ्चारकर्मी एवम् स्थानीयको उपस्थिति थियो ।




प्रतिक्रिया