काठमाण्डु – हरितालिका तीजको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालको तर्फबाट स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करीब ७०० जना जनशक्ति परिचालन हुने भएका छन् ।
सशस्त्रका १५० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरू खटिनेछन् । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा महिलाको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा मंगलबार राति २ बजेदेखि ड्युटी परिचालन हुनेछ ।
पशुपति परिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थानपना गरिएको छ भने मेलाको सम्पूर्ण कमाण्ड नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाण्डुले गर्नेछ ।
उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयबाट एक सिफ्टमा ३०० भन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचालन हुनेछन् ।
आवश्यक परेको समयमा थप मद्दतका लागि नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाण्डु, नम्बर १८ निलबराही गण कीर्तिपुर, नम्बर २० विपद् उद्वार गण सिनामंगल, नम्बर २१ दक्षिणकाली गण खुमलटार ललितपुर, नम्बर २२ गुहेश्वरी गण दुवाकोट भक्तपुर र नम्बर २४ बाघभैरव गुल्म काठमाण्डुमा आवश्यकता अनुसार सुरक्षा फौज तयारी हालतमा राखिएको छ ।
नेपाल एपीएफ अस्पतालको महिला चिकित्सक सहितको स्वास्थ्यकर्मीले मेला अवधिभर नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछन् । नम्बर २० विपद् उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरीको गोताखोर तथा विपद् उद्धारक र आवश्यक सामग्री सहितको वाटर रेस्क्यु टोली राम मन्दिर नजिकै बागमती नदीको किनारमा खटिनेछ ।




प्रतिक्रिया