रोशन खड्का, काठमाण्डु – अमेरिकाले नेपाली सेनालाई एयर एम्बुलेन्स र एउटा स्काई ट्रक दिने भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार अमेरिकी सेनाले भदौ १४ मा उक्त जहाज नेपाली सेनालाई हस्तान्तरण गर्ने भएको हो । अमेरिकाले परराष्ट्र मन्त्रालयललाई पत्र लेखेर जहाज हस्तान्तरण गर्न लागेको जानकारी दिइसकेको छ ।
सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले भने यसबारेमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । उनले काठमाण्डुपाटीसंग कुरा गर्दै ‘भने अहिलेसम्म जहाज हस्तान्तरणबारे जानकारी आएको छैन । थप केही जानकारी आयो भने म तपाईहरुलाई भन्छु । ’
तर, नेपाली सेनाको हवाई महानिर्देशनालयका एक उच्च अधिकारीले भने अमेरिकाबाट भदौ १४ मा नै हस्तान्तरणको लागि पत्र आइसकेको जानकारी दिए । उनकाअनुसार जहाज पोल्याण्डबाट सिधै नेपाल आउन लागेको हो ।
अमेरिकाले नेपाली सेनालाई दिन लागेको विमान वैदेशिक सैन्य सहायता कार्यक्रमअन्र्तगत हो । नेपाली सेनालाई आपतकालीन उद्धारमा सघाउन अमेरिकाले जहाज उपलब्ध गराउन लागेको हो । सेनाले उक्त विमानलाई सामान ढुवानी, घाइतेको उद्दार,प्याराजम्प र विशिष्ट व्यक्तिको सवारीका लागि प्रयोग गर्नेछ ।
नेपाल र अमेरिकाबीच ल्याण्ड फोर्स टक्स २०१६ देखि सुरु हुंदै आएको छ । जसबाट दुई देशबीचको सैन्य सहकार्य मजबूत हुंदै आएको छ । सेनाले सुरुबाटै आफ्नो हवाई क्षमता अभिबृद्धि गर्न अमेरिकी सहयोग लिइरहेको छ । दुबै देशबीच सैनिक अभ्यास समेत हुंदै आएको छ ।
अमेरिकाले सबै सहयोग इण्डो प्यासेफिक रणनीतिअन्र्तगत हुने भनेपछि बिचमा विवाद भएको थियो । त्यसपछि सहयोग लिने वा नलिनेबारे समेत देशभित्रै दुई वटा फरक फरक धारणा आएपछि सहयोगमा ढिलाई भएको थियो । कतिपयले सैन्य सहयोगलाई नेपालको संप्रभुता र स्वतन्त्रतामा हस्तक्षेप हुने भन्दै आन्तरिक मामिलामा विदेशी प्रभाव बढाउन नहुने तर्क समेत गरिरहेका छन् । तर, अमेरिकाले भने यसलाई विशुद्ध मानवीय उद्धार र विपद् व्यवस्थापनामा सहयोग गर्न खोजेको दावी गर्दै आएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले नेपाली सेनालाई चार वटा एम २८ स्काई ट्रक विमान हस्तान्तरण गर्ने घोषणा गरेको थियो । जसअनुसार पहिलो चरणमा २०२० डिसेम्बर १८ मा नेपाली सेनालाई दुई वटा विमान हस्तान्तरण भइसकेको छ । नेपाली सेनाका तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा पोल्याण्डमा बनेको एम २८ स्काई ट्रक हस्तान्तरण भएको थियो ।
२०८१ साउन ३२ मा नेपाल भ्रमणमा आएका अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासंगको भेटमा नेपाली सेनालाई सैनिक सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले विपद् प्रतिकार्यका लागि दुई वटा स्काई ट्रक सहयोग गर्ने जानकारी त्यो बेला दिएका थिए । उनले दुई वटा वेल हेलिकोप्टर समेत दिने प्रतिबद्धता जनाएपनि त्यो आउन भने समय लाग्ने सैनिक स्रोतले जानकारी दियो ।
अमेरिकाले दिन लागेको स्काई ट्रकको मुल्य २ करोड २४ लाख ७२ हजार ५ सय ७५ अमेरिकी डलर रहेको छ । उक्त विमानको दुई हजार ३ सय केजी भारवहन क्षमता रहेको छ भने विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्नेछ ।
सेनाले उक्त जहाजलाई नेपालका दुर्गम र पहाडी क्षेत्रहरुमा उद्धार र राहत कार्यमा संचालन गर्दै आएको छ । सेनाको हवाई क्षमता वृद्धि र विपद् व्यवस्थापन क्षमतामा सुधार गर्नको लागि यो सहयोग उपयोगी हुने विश्वास सेनाले लिएको छ ।




प्रतिक्रिया