प्रधानसेनापति एक्सनमा : सेनाका चार जर्नेल र दुई कर्नेलमाथि छानबिन सुरु

प्रधानसेनापति एक्सनमा : सेनाका चार जर्नेल र दुई कर्नेलमाथि छानबिन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानसेनापति अशोकराज सिग्देलले सेनाभित्र आर्थिक अनियमितता गरेको भन्दै केही उच्च अधिकारीमाथि कारबाही अघि बढाएका छन्। ठेकेदारसँग मिलेमतो गरी बजेट दुरुपयोग गरेको आरोपमा उनले चार जना जर्नेल र दुई जना कर्नेललाई छानबिनको दायरामा ल्याएका हुन्।

प्रधानसेनापति सिग्देलले उपरथी प्रकाश देउजा, डिजिएमएस डा. अरुण शर्मा, सहायकरथी भुवन कुँवर, सहायकरथी भरत भण्डारी, महासेनानी दीपक भण्डारी र प्रमुख सेनानी सुजन प्रधानमाथि छानबिन थालेका छन्। तीमध्ये कुँवर र प्रधानलाई जिम्मेवारीबाट हटाइसकिएको छ।

डा. कुँवरलाई सिग्देलका सम्धी यादव कुँवरका नातेदार भएकै कारण अस्पतालको प्रमुख बनाइएको बताइएको छ। हाल उनलाई सैनिक सचिवकोमा तानेर अतिरिक्त समूहमा राखिएको छ।

सेनाको अस्पतालमा करिब १५ करोड रुपैयाँ बराबरको ल्याब उपकरण खरिदमा अनियमितता भएको आरोपपछि छानबिन सुरु गरिएको हो। आवश्यक नभएको उपकरण समेत आर्थिक लोभमा किनिएको र यसमा अनियमितता भएको भन्दै प्रधानसेनापतिले कारबाही थालेका हुन्। ल्याब खरिदको सेटिङ मिलाउने व्यापारी बाबुराम कोइराला रहेका छन्।

कोइरालाको गाईखुरा इन्टरप्राइजेजले सामान उपलब्ध गराएको र उनका विभिन्न कम्पनीले सेनामा लगातार आपूर्ति गर्दै आएको पाइएको छ। ‘व्याकमन कल्टर’ नामक विदेशी कम्पनीका नेपाली प्रतिनिधि हरि थापा हुन् । तर, त्यही कम्पनीबाट सामान किनेर कोइरालाले अस्पतालमा ल्याब सप्लाई गरेका हुन् । सैनिक अस्पतालमा लामो समयदेखि कोइरालाको प्रभाव रहेको र केही डाक्टर र अधिकारीसँग मिलेर अस्पताललाई ‘भ्रष्टाचारको थलो’ बनाएको भन्दै सेनापति सिग्देल एक्सनमा उत्रिएका हुन्।

यस घटनापछि अस्पतालको नेतृत्व सहायकरथी नम्रता महरा रावललाई दिइएको छ। साथै, उपरथी रविन्द्र खत्रीको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरी छानबिन सुरु गरिएको सैनिक स्रोतले जानकारी दिएको छ। यसबारेमा सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतसंग सम्र्पक गर्न खोज्दा उनिसंग सम्पर्क हुन सकेन ।

तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माको कार्यकालमा उपरथी देउजा खरिद विभागको प्रमुख थिए। त्यसै समयमा दीपक भण्डारी समेत ठेकेदारलाई सहज बनाउने मुख्य पात्रका रूपमा काम गर्थे। अहिले उनीहरूमाथि पनि कडाइका साथ अनुसन्धान भइरहेको छ।

सेनामा हाल द्रव्य भण्डारी समूहको प्रभाव बढिरहेको बताइन्छ। द्रव्य भण्डारीको यादव कुँवरसँग निकट सम्बन्ध रहेको र सेनाको ठूला ठेक्कापट्टामा कुँवरको सक्रियता बढेको सैनिक स्रोतको भनाइ छ। यसअघि कालोसूचीमा परेका सुदीप रेग्मीसमेत सोही समूहमार्फत पुनः सक्रिय भएको स्रोतको दावी छ ।यादवले तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीसंग मिलेर सैनिक मुख्यालय निर्माण गरेका थिए ।

यस्तै, जलेश्वर पौडेलको अल्वेलो मल्टिनेशनल कम्पनी, शम्भु भारतीको भगवती ट्रेडर्स, राहुल कर्माचार्यलगायतका व्यापारीसँग मिलेर सेनामा गोली, फ्युल ट्यांकर, वाटर ट्यांकर, ट्रेलर फोर, लाइट जेनेरेटरजस्ता सामान खरिदमा पनि अनियमितता भएको गुनासो छ। व्यापारीसँग मिलेमतो गर्दै विदेश भ्रमणसमेत गरेको आरोपमा प्रमुख सेनानी सुजन प्रधानलाई शान्ति सेना निर्देशनालयबाट तानेर अनुसन्धान सुरु गरिएको छ।