ऊर्जामन्त्री खड्का र भौतिक पूर्वाधारमन्त्री दाहालबीच भेटवार्ता

ऊर्जामन्त्री खड्का र भौतिक पूर्वाधारमन्त्री दाहालबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेट गरी संखुवासभा लगायत देशभरका विकास निर्माण योजनामा गति दिन आग्रह गरेका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयको कार्यकक्षमा भएको भेटमा मन्त्री खड्काले आगामी वर्षमा पनि विगतका जस्तै बजेट फ्रीज हुने अवस्था दोहोरिन नदिन, योजनाहरू समयमै सम्पन्न गर्न र योजनाको गुणस्तरमा कुनै सम्झौता नगर्न मन्त्री दाहालसँग विशेष जोड दिए ।

उनले भने, ‘जनताले अनुभूति गर्ने खालका विकास योजनाहरूलाई प्राथमिकतामा राखेर समयसीमाभित्र सम्पन्न गर्नु आजको आवश्यकता हो । ढिलासुस्तीका कारण विकासमा जनआस्था घट्दै गएको छ, त्यसैले यथाशीघ्र सुधार आवश्यक छ ।’

मन्त्री खड्काले संखुवासभा जिल्लामा सञ्चालनमा रहेका सञ्चालनमा रहेका सडक, पुल तथा आवासीय संरचना निर्माणलाई तीव्रता दिन मन्त्री दाहालसँग आग्रह गरे । मन्त्री खड्काले चाडपर्व नजिकिएकासँगै राजधानीबाट जिल्ला फर्किनेहरूको चहलपहल बढ्ने भएकाले सुरक्षित रूपमा आवतजावतका लागि बाटोघाटो र यातायातको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

भेटमा भौतिक पूर्वाधार मन्त्री दाहालले ऊर्जामन्त्री खड्काको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा मन्त्रालयबीच सहकार्य गरेर काम अघि बढाइने बताए । उनले भने, ‘विकास कुनै एक मन्त्रालयको जिम्मेवारी मात्र होइन, यो साझा एजेन्डा हो । त्यसैले ऊर्जा, भौतिक पूर्वाधार, शहरी विकास लगायतका निकाय बीचको सहकार्य अझ मजबुत पार्दै योजनाहरूलाई परिणाममुखी बनाइनेछ ।’

यसैबीच, ऊर्जामन्त्री खड्काले शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई समेत संखुवासभा र अन्य जिल्लामा भौतिक पूर्वाधारका योजना छिटो सम्पन्न गर्न निर्देशन दिए । विशेषगरी विनियोजित कार्यक्रम र बजेट फ्रीज नहुने गरी योजना कार्यान्वयनमा तीव्रता दिन मन्त्री खड्काले सचिव सिग्देललाई आग्रह गरेका छन् ।